भदौ २५, २०८२ बुधबार

कृष्ण अधिकारी

काठमाडौँ, २५ भदौ(रासस)ः सकारात्मक सोचका धनी, नेपालको पर्यटन, सम्पदा र संस्कृतिका धरोहर तथा नेपाली साहित्यका सशक्त हस्ताक्षर कर्ण शाक्यको हालै बजारमा आएको नयाँ कृति‘माँ र बा’ले नेपाली समाजको सजीव चित्रण गरेको छ । आत्मकथात्मक शैलीमा लेखिएको जीवन–अनुभवको सङ्ग्रह यस पुस्तकमा पछिल्लो समय आफूलाई जन्म दिने सन्तानहरुले बाबु आमाप्रति गरेको व्यवहार, रहर र बाध्यताका बीच विदेश जानु परेका छोराछोरीका पीडा र बाबु आमाबीचको वियोगको अवस्थालाई बढ्दो मार्मिक ढङ्गबाट लेखकले विश्लेषण गर्नुभएको छ । उहाँका यसअघिका सोच, खोजजस्ता १४ वटा पुस्तक जत्तिकै यस पुस्तकले पनि वाङ्मयमा आफूलाई स्थापित गर्नुको साथै सम्पूर्ण पाठकहरुलाई आआफ्ना घरका व्यथालाई स्मरण गराउँदै हरेक छोराछोरीलाई आफ्ना बाबुआमाप्रतिको दायित्वबोध गराउन पुस्तक सफल भएको छ । 

    पुस्तकमा लेखकले आफ्ना व्यक्तिगत जीवनका उतार–चढाव, परिवारसँगको सम्बन्ध, सामाजिक मूल्य–मान्यता, बाल्यकालदेखि प्रौढ जीवनसम्मका अनुभव र विशेषगरी आमा बाबुप्रतिको सम्झना गरिरहँदा पाठकलाई गम्भीर भएर सोच्न बाध्य तुल्याउँछ । पुस्तकले आमाबाबुको स्नेह, माया र मार्गदर्शनले व्यक्तिको जीवनलाई कसरी प्रभावित गर्छ भन्ने कुरालाई छर्लङ बनाएको छ । आफ्नो व्यक्तिगत सङ्घर्ष, समाजसेवा र जीवन दर्शनलाई पनि पुस्तकको शुरुदेखि अन्त्यसम्म सिलसिलाबद्ध ढङ्गबाट पुस्तुत गराउन सक्नुले लेखकको लेखकीय क्षमतालाई पुनःस्थापित गरेको छ । नेपाली संस्कृतिमा आमा बाबुलाई भगवान सरह मान्ने परम्परागत मूल्यहरूको व्याख्या गर्दै सन्तानलाई पूर्वीय सभ्यताअनुसार जन्म दिने बाबुआमाप्रति कृतज्ञ गराउन खोजिएको छ ।  

    पुस्तकमा व्यक्त विचार भावनात्मक मात्र नभई प्रेरणादायी पनि छन् । यसमा उहाँले आफ्ना बाल्यकालका अनुभवदेखि जीवनमा आइसकेका सङ्घर्ष र उपलब्धिलाई आमा बाबुबाट सिकेको शिक्षासँग जोडेर प्रस्तुत गर्नुभएको छ । आमा बाबुको स्नेह, अनुशासन र संस्कारले जीवनलाई कसरी सही बाटोमा अघि बढाउँछ भन्ने कुरालाई पुस्तकले राम्ररी शिक्षा दिन सकेको छ । आफ्नो जीवनका कठिन क्षणहरूमा पनि आमा बाबुको सम्झना, आशीर्वाद र शिक्षाबाट प्राप्त ऊर्जाले नै आफूलाई सफल व्यक्ति बनाउन सकेको उहाँको निस्कर्ष छ । नेपाली समाजमा आमा बाबुलाई भगवान सरह मान्ने परम्परागत मूल्यलाई लेखकले आधुनिक दृष्टिकोणबाट व्याख्या गर्दै समाज र संस्कृतिलाई राम्रोसँग जोड्नु भएको छ । व्यक्तिगत सङ्घर्ष, पारिवारिक सम्झना, शिक्षा र जीवनदर्शनलाई प्रेरणादायी ढङ्गले प्रस्तुत गरिएको यस पुस्तक व्यक्तिगत कथामा मात्र सीमित छैन, नेपाली समाजको वर्तमान अवस्थालाई सुक्ष्म रूपमा केलाइएको छ ।

    जीवनको निरन्तर यात्रामा आरोह–अवरोहबीच सधैँ सपना देख्ने र अन्धकारमा पनि उज्यालो खोज्दै अघि बढ्न सक्ने क्षमता राख्नुहुने कर्ण शाक्यले पुस्तकमा लेख्नुभएको छ, ‘मैले धेरै सोचें, भने, बोलें, लेखेँ, र लेखेको कुरा पूरा पनि गरेँ । केही स्मृतिमा हराए, यद्यपि सपना देख्न कहिल्यै रोकिनँ ।’ यही भुटभुटीले नै उहाँले ८४ वर्षको उमेरमा पनि पुस्तक लेख्न प्रेरित ग¥यो । जीवनको उत्तराद्र्धमा फर्केर हेर्दा, आफूले नसोचेको कल्पनाभन्दा बढी उपलब्धि हासिल गरेको, सन्तुष्टि पाएको र यसले औसत मान्छे हुँदाहुँदै आफूलाई महानायक अनुभूति भएका बेला आउने अहंकार वा स्वाभिमानले पनि अविचलित रहनसक्ने खुवि राख्नुहुन्छ उहाँ । आफ्नो सफलताको अन्तरात्माले एक्स–रे गरेर हेर्दा सफलताको गहिरो जग त मेरी आमा र बाबु पो रहेछन् भन्ने बोध भएपछि नै उहाँहरुप्रतिको जिम्मेवारी बोधले नै आफूलाई पुस्तक लेख्न प्रेरित गरेको शाक्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जसरी जग देखिँदैन, भवन मात्र देखिन्छ । जति भवन अग्लो हुन्छ, त्यति नै जग गहिरो र बलियो हुनुपर्छ । आमाले जन्म दिनुभयो, बाबाले कर्म । तर आमाबाबुलाई सन्तानले के दियौँ ? यही प्रश्नले मलाई यो पुस्तक लेख्न घचघच्यायो । अतः मलाई जन्म दिने आमा र बाबुलाई अक्षरको कुन्जमा अमर बनाउन चाहें ।’

    पुस्तकमा उहाँको तीन पुस्ताको उद्यमशीलताको जिउँदो गाथाले सङ्घर्षदेखि सफलता, निराशाबाट आशा र विचारबाट उपलब्धिको सकारात्मक यात्रा तय गरेको छ । अठार वर्षको कलिलो उमेरमै बाबा स्वर्गारोहण भएकाले पितृत्वको अधुरो माया मात्रै पाउनु भएका उहाँका सपनामा प्रायःआइरहने बुबाको दृश्यले उहाँलाई पितृबोध मात्र गराएन, विदेशमा रहेका ८५ लाख नेपालीका बाबुआमाको सपनासँगै खोसिएका खुशीहरुलाई कसरी फर्काउन सकिन्छ भन्ने हुटहुटीले पनि सताएको पाइन्छ । आफ्ना जरा, संस्कार र सम्बन्धप्रतिको सम्मान भावनालाई उजागर गर्ने प्रयासस्वरुप पाणिनी बुक्सले प्रकाशनमा ल्याएको यस पुस्तक जेन्जी पुस्ताका लागि मार्गदर्शन बन्ने विश्वास गरिएको छ । 

    उहाँका धेरै पुस्तकको शिर्षक दुई दुई अक्षरको रहेको हुँदा यही लय समात्दै यस किताबको नाम पनि “माँ बा” राख्नु भएको देखिन्छ । वास्तवमा माँ र बा त ती दुई अक्षर हुन्, जुन प्राणी मात्रले जीवनमा पहिलो उच्चारण गर्ने शब्द हुन् । यसले प्रेम र सुरक्षाको अनुभूति दिन्छ । आमा बाबुको सम्झना मात्र होइन, उनीहरू जीवित छँदाखेरि सम्मान, माया र सेवा गर्नु नै सन्तानको महान कर्तव्य हो भन्ने कुरा पुस्तकले प्रष्ट्याउँछ । भावी पुस्ताका लागि हस्तान्तरण गरिएको यस पुस्तकमार्फत लेखकले आफ्ना आमा–बाबुप्रतिको श्रद्धाञ्जलि मात्र होइन—पूजा र संस्कारको दस्तावेजको रूपमा प्रस्तुत गर्नुभएको छ ।