भदौ २३, २०८२ सोमबार

काठमाडौँ, २३ भदौः जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि आज साँझ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको हो ।

    आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको छ भने ४२२ जना घाइते भएका छन् । घाइतेमध्ये १७० जनाको सिभिल अस्पताल, १० जनाको वीर अस्पताल, ५९ जनाको ट्रमा सेन्टर, १०२ जनाको एभरेष्ट अस्पताल, ६ जनाको पाटन अस्पताल, ३१ जनाको काठमाडौँ मेडिकल कलेज, १८ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

    यस्तै, ३ जनाको नर्भिक अस्पताल, चारजनाको अन्नपूर्ण न्यूरो अस्पताल, एक जनाको गण्डकी मेडिकल कलेज, सात जनाको दमक अस्पताल, चार जनाको विपी कोइराला अस्पताल धरान र चार जनाको विराट मेडिकल कलेजमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।