गोरखा, २३ भदौ, जिल्लाको चुम उपत्यका विगत तीन दिनदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन भएको छ । चुमनुब्री गाउँपालिका–७ मा रहेका छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी र छुलेगाउँका करिब तीन सय परिवारका आठ सयभन्दा बढी नागरिक तीन दिनदेखि विद्युत् तथा सञ्चार सम्पर्कविहीन भएको स्थानीय दोर्जे लामाले जानकारी दिनुभयो ।
गत आइतबार बिहानदेखि गाउँमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको उहाँले बताउनुभयो । “कादुरी संस्थाले बनाएको लघुजलविद्युत् आयोजनाको पावरहाउस बिग्रिएर आइतबार बिहानदेखि विद्युत् उत्पादन बन्द भएको छ”, लामाले भन्नुभयो, “तीन दिनदेखि वडा नं ७ का लार, पाङ्दुन र निलेबाहेक सबै ठाउँ बस्तीमा बत्ती छैन ।”
सोही पावरहाउसबाट लगेको विद्युत्को लाइनले मोबाइलको टावर चलेको भन्दै उहाँले विद्युत् नभएपछि टेलिफोन र इन्टेरको टावर पनि नचलेको लामाले बताउनुभयो ।
विद्युत्का प्राविधिकसँग बुझ्दा मेसिनमा खराबी आएकाले समस्या भएका बताएको उहाँले सुनाउनुभयो ।
गाउँमा विद्युत् सेवा नहुँदा कुटानीपिसानी मिल, काष्ठ मिल र घरायसी विद्युतीय उपकरण चलाउन पाइएको छैन ।