भदौ १७, २०८२ मंगलबार

– नृपबहादुर सुनार

काठमाडौँ, १७ भदौ (रासस): अपार सम्भावना हुँदाहुँदै विगतमा सुदूरपश्चिम प्रदेशमा विकासले गति लिन सकेन । त्यसैले गरिबी, दुःख, अभाव, बेरोजगारी र कठिनाइ यस प्रदेशको परिचयजस्तै बन्यो । गणतन्त्र स्थापनापछि भने यो परिचय बदल्न र नयाँ पहिचान बनाउन तिनै तहका सरकार क्रियाशील छन् । सुदूरपश्चिम केबल ‘टाढाको भूगोल होइन, नजिकको सम्भावना’ हो भन्ने भाष्य बनाउन विविध प्रयत्न भइरहका छन् ।

आजको विश्व आर्थिक साझेदारी र सहकार्यको नयाँ चरणमा प्रवेश गरिरहेको छ । दिगो विकास, समृद्धि र साझा प्रगति अब सरकार, समुदाय र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै सम्भव छ । यही दृष्टिकोणलाई आत्मसात् गर्दै प्रदेश सरकारले आफ्ना नीति, योजना र कार्यक्रममार्फत रूपान्तरणको यात्रा अघि बढाएको छ । यस अभियानमा सबैको अपनत्व र सहकार्य जुटाउन ‘सुदूरपश्चिम प्रदेश विकास तथा लगानी सम्मेलन’ सुरु गरिएको हो । प्रदेशलाई ‘सम्भावनाको द्वार, लगानीको गन्तव्य’का रूपमा स्थापित गर्न दीर्घकालीन साझेदारी, लगानी प्रवद्र्धन र दिगो विकासतर्फ नयाँ युग सुरु गर्ने अठोटसहित यसको सुरुआत गरिएको हो । गत वर्ष असोज २१–२२ गते सम्पन्न पहिलो सम्मेलनले लगानीको आधार तयार गरिसकेको छ । अब मङ्सिर १–२ गते हुने दोस्रो सम्मेलनमार्फत त्यसलाई अझ गति दिने, नयाँ सम्भावना खोल्ने र दीर्घकालीन साझेदारीको वातावरण निर्माण गर्ने हाम्रो अपेक्षा छ ।

यसकारण विकास सम्मेलन 

सुदूरपश्चिम, जहाँ हरेक नदीले ऊर्जा बोक्छ । हरेक जमिनमा सम्भावना अङ्कुराउँछ र हरेक फाँटमा सुन्दर भविष्यको आशा लहलहाउँछ । सेती, कर्णाली र महाकालीजस्ता नदीमा पानी मात्रै होइन, विद्युत् र जल पर्यटनको ठूला अवसरहरु बगिरहेका छन् । खप्तड, बडिमालिका र अपि–सैपाल हिमाल केबल दृश्य सौन्दर्य मात्र होइनन्, विश्वभरका पर्यटकलाई मोहित पार्ने अमूल्य सम्पदा हुन् । कैलाली, कञ्चनपुरका फाँट, पहाडका कान्ला र उच्च हिमालका पाखापखेरा निर्वाहमुखी खाद्यान्न मात्रै होइन, स्वस्थ जीवनका लागि कृषि उपज र रोजगारीका लागि औद्योगिक सम्भावना पनि बोकेका छन् । यहाँका वन जङ्गल वन्यजन्तुका क्रिडास्थल र जडीबुटीका ‘आधार इलाका’ हुन् । यी सबै सन्देशलाई विश्वभर पु¥याउन र लगानी आकर्षित गर्न यो सम्मेलन दोस्रो पटक आयोजना हुँदैछ ।

प्रदेशलाई समृद्धि र दिगो विकासतर्फ उन्मुख गराउन सबै सरोकारवालामा साझा दृष्टिकोण निर्माण र दीर्घकालीन सहकार्य आवश्यक छ । यही उद्देश्यका लागि विकास सम्मेलन आयोजना गर्न थालिएको छ । यसले कानुनी र नीतिगत सुधार, सार्वजनिक–निजी साझेदारी तथा स्थानीय उद्यमशीलता प्रवद्र्धन गरी प्रदेशको विकासलाई एक नयाँ दिशा दिने लक्ष्य लिएको छ । सम्मेलनका मुख्य पाँच वटा उद्देश्य र महत्त्व छन्ः

लगानी आकर्षणः प्रदेशका प्रमुख क्षेत्रहरू (ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार, उद्योग, डिजिटल) मा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्नु । नयाँ लगानी प्रवाहमार्फत उत्पादन र उत्पादकत्वमा वृद्धि गरी रोजगारी सिर्जना र आर्थिक गतिशीलता प्रदान गर्नु ।

नीति सुधार र लगानीमैत्री वातावरणः सरलीकृत लगानी प्रक्रियाका माध्यमबाट लगानीकर्ताहरूलाई सहज अनुभव प्रदान गर्नु । सरकारी, निजी तथा अन्तरराष्ट्रिय साझेदारहरूको सहकार्य र समन्वयलाई बलियो बनाउनु ।

स्थानीय उद्यमशीलता र नवप्रवर्तनः युवा उद्यमी र ‘स्टार्टअप’ को विकासमा प्रोत्साहन गर्नु । नवप्रवर्तनशील विचारधारालाई समर्थन गर्दै प्रतिस्पर्धात्मकता र दीर्घकालीन विकास सुनिश्चित गर्नु ।

समग्र आर्थिक विकासः प्रदेशको कुल घरेलु उत्पादन (जिडिपी) वृद्धिमा योगदान पु¥याउने । आर्थिक संरचनामा नयाँ जीवन्तता र दिगो विकास रणनीतिहरूको कार्यान्वयन गर्नु ।

सम्मेलनलाई यी उद्देश्य पूर्तिका लागि स्थानीय सरकार, निजी क्षेत्र, विकास साझेदार र सङ्घीय सरकारबीचको सहकार्यलाई संस्थागत बनाउने तथा सुदूरपश्चिमको सम्भावनालाई विश्वसामु उजागर गर्ने अवसरका रूपमा लिएका छौँ । 

सुदूरपश्चिम : सम्भावना र अवसर 

सामाजिक, सांस्कृतिक, भौगोलिक र जैविक विविधता तथा स्रोत र संसाधनको विविधता (प्राकृतिक, मानवीय र भौतिक संचरना) सुदूरपश्चिम प्रदेशका सामथ्र्य हुन् । यो यस्तो भूमि हो, जहाँ खप्तडका जङ्गलले ध्यानको गहिराइमा पु¥याउँछन् । अपी–सैपाललगायत हिमालले गौरवको शिखर देखाउँछन् र महाकाली–कर्णालीजस्ता नदीले विकासमा हासिल गर्न चाहेको गतिलाई बताउँछन् । यहाँका तराई, पहाड र हिमालका बस्ती, खोलानाला, पाखापखेरामा सङ्घर्ष, साहस र संस्कारको कथा गुथिएका छन् ।

यस प्रदेशमा पेट्रोलियम पदार्थ, चुनढुङ्गा, पत्थर, कोइला, अभ्रक (सल्फर), फलाम, तामा, सिसा आदिका खानीको सम्भावना रहेको अनुमान छ । यहाँको तराई क्षेत्र अन्नबाली, दलहन र तेलहनको भण्डार हो भने पहाड जडीबुटी र फलफूलको उद्यानयुक्त क्षेत्र हो । व्यापारिक सम्बन्धको हिसावले पनि यो प्रदेश बहुआयामिक महत्वको छ । तराई र पहाडका जिल्लाको व्यापार, पारवहन र वाणिज्य सम्बन्ध भारतसँग जोडिएको छ । नजिकै भारतको उत्तराखण्ड तथा उत्तर प्रदेश राज्यहरू छन् । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालकै लुम्बिनी तथा कर्णाली प्रदेशसँग सीमाना जोडिएको छ ।

यी सम्भावनाका बीच पनि उचित लाभ लिन सकिएको छैन । ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भनेझैँ यहाँ उचित लगानी र विकास पूर्वाधारको अभावमा देशमै सबैभन्दा कमजोर अवस्था छ । मानव विकास सूचकाङ्क, बहुआयामिक गरिबी, बिजुली उत्पादन, बेरोजगारी, उद्योग, कलकारखाना, कुल गार्हस्थ उत्पादनमा हाम्रो अवस्था चिन्ताजनक छ । त्यसैले यी सबै कुरालाई मध्यनजर गरी प्रदेश सरकारले विकासको गति बढाउन चाहेको छ । त्यसका लागि सबैलाई लगानीको लागि अपिल गरिरहेको छ । प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार, ऊर्जा, मानव पुँजी, सूचना तथा प्रविधि र सेवा क्षेत्रमा लगानीको बाटो खोल्ने गरी विकास प्राथमिकताको पहिचान गरेको छ । आगामी लगानी सम्मेलनलाई लक्षित गरी विभिन्न मन्त्रालय, निजी क्षेत्र र विकास साझेदार समेतको समन्वयमा करिब ४५ वटा बहुलाभदायी परियोजना पहिचान गरिएका छन् । यहाँका सम्भावनाबारे यसरी विश्लेषण गरौँः 

ऊर्जा र जलविद्युत्ः सुदूरपश्चिम प्रदेशमा जलविद्युत् आयोजना विकासको ठूलो सम्भावना छ । यहाँका नदी तथा खोलाबाट १५ हजार मेघावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको जानकारहरू बताउँछन् । छ हजार चार सय मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देशीय परियोजना, ४३९ मेगावाटको बेतन कर्णाली आयोजना, सात सय ५० मेगावाटको पश्चिम सेती परियोजना र १० हजार आठ सय  मेगावाट क्षमताको कर्णाली परियोजना यहाँका महत्वपूर्ण आयोजना हुन् । बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । 

सुदूरपश्चिममा ऊर्जामा यत्रो सम्भावना छ, तर पनि यहाँ करिब एक सय ७५ मेगावाट विद्युत् मात्रै उत्पादन भइरहेको छ, जबकी देशभर करिब तीन हजार पाँच सय ६५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यहाँ छ सय ८० मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएर विभिन्न चरणमा छन् । एक हजार नौ सय १६ मेगावाट उत्पादन अनुमतिपत्रका लागि दरखास्त प्राप्त भएको र एक हजार दुई सय ७२ मेगावाटका लागि सर्वेक्षण अनुमतिप्राप्त गरी अध्ययनको चरणमा रहेको अवस्था छ । कतिपय आयोजना सम्भाव्यता अध्ययन सकेर निर्माण सुरु हुने अवस्थामा छन् । यहाँ आन्तरिक माग, नजिकै विश्वको उदाउँदो अर्थतन्त्र भारत र त्यहाँका धेरै जनसङ्ख्या र उद्योग भएका क्षेत्र नजिकै रहेकाले प्रदेशमा उत्पादित विद्युत् केवल आन्तरिक माग पूरा गर्न मात्र होइन, भारत र त्यहाँ हुँदै अन्य मुलुकमा निर्यात गर्न सक्ने क्षमता सम्भावना छ । 

कृषि र कृषि उद्यमः यहाँ कुल कृषि योग्य क्षेत्र तीन लाख ६७ हजार छ सय ४९ हेक्टर रहेको छ । त्यसमा एक लाख ७१ हजार आठ सय ३२ हेक्टर सिँचित क्षेत्र छ । जहाँ ३८ हजार तीन सय हेक्टर सिँचाइ क्षमताको रानीजमरा कुलरिया सिँचाइ आयोजना र ७१ हजार आठ सय २० सिँचाइ हुने महाकाली सिँचाइ आयोजना छ । यहाँको कृषि क्षेत्रले प्रदेशको कुल गार्हस्थ उत्पादनमा करिब एक तिहाइ योगदान गरिरहेको छ । यहाँ बाजुरामा १९ हजार हे, बझाङमा १८ हजार र अछाममा ११ हजार हेक्टर ओलिभ खेतीका लागि सम्भावनायुक्त छ । 

यसर्थ धान, गहुँ र ओलिभ प्रशोधन तथा पशु आहार उद्योग यहाँको कृषि औद्योगिक आधार हुन् ।  यस्तै, ओखर, किवी, सुन्तला, स्याउलगायत उच्च मूल्यका बालीको उपयोग, स्थानीय रक्सी उत्पादन, जैविक तथा देशी बीउ उत्पादन कारखाना, बहुउद्देश्यीय जडीबुटी प्रशोधन केन्द्र, मसला प्रशोधन, व्यावसायिक दुग्ध उत्पादन र व्यवस्थापन गर्न सकिन्छ । त्यसबाहेक माछा उद्योग, ह्याचरी, व्यावसायिक हरिण, कालिजपालनका लागि यो भूमिमा अत्यन्त सम्भावना छ ।  यी उत्पादनलाई प्रशोधन गरी मूल्यवृद्धि गरेर अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ । 

पर्यापर्यटन, साहसिक गतिविधि र धार्मिक पर्यटनः खप्तड राष्ट्रिय निकुञ्ज, अपि–सैपाल हिमाल, बडिमालिका, उग्रतारा, शैल्यशिखर, रामारोशन, घोडाघोडी, बेहडाबाबा, मल्लिकार्जुन, उग्रताराजस्ता धार्मिक तथा प्राकृतिक स्थलले साहसिक, धार्मिक र पारिस्थितिक पर्यटनको अपार अवसर बोकेको छन् ।

खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज इको लज, वन्यजन्तु सफारी र वेलनेस रिट्रिट, बडिमालिका, त्रिपुरासुन्दरी, शैलेश्वरी, रामारोशन, बैद्यनाथधामजस्ता क्षेत्रहरू आध्यात्मिक र सांस्कृतिक पर्यटन, महाकाली, कर्णाली र सेतीलगायत नदीहरू ¥याफ्टिङ, कायकिङ र नदी किनार इको–लजका लागि उपयुक्त छन् । 

यहाँ खस भाषाको उद्गमस्थल डोटी सभ्यता, सौका, डगौरा, राना थारुलगायत यहाँका जातजाति, भाषाभाषाी, रहनसहन आधारित होमस्टे, फार्म टु टेबल अनुभव र हिमालयन ट्रेकिङ मार्गको विकासको माध्यमबाट लाभ लिन सकिन्छ । यसमा तीर्थस्थल र संरक्षित क्षेत्रलक्षित रिसोर्ट, हाइवे विश्राम स्थल, केबलकार, सम्मेलन केन्द्र, पार्कहरू लगानीका क्षेत्र हुनसक्छन् । 

उद्योग पूर्वाधार र सहरी विकासः यहाँका नौ जिल्लामा २५ भन्दा बढी खनिजहरू पहिचान गरिएका छन् । प्रमुख खनिजका लागि ४० भन्दा बढी अन्वेषण अनुमतिपत्र जारी गरिएका छन् । टालक, ग्रेनाइट र धातु खानी (सिसा, तामा, जिङ्क), मूल्यवान चुनढुङ्गा–सिमेन्ट परियोजनामार्फत खनिज केन्द्रहरू बनाउन सकिन्छ । क्षेत्रीय आपूर्ति श्रृङ्खलाका लागि रासायनिक र मल उद्योग, काठ, काठ प्रशोधन र सिजनिङ प्लान्टहरू, ग्रेनाइट र धातु हस्तकला उद्योग लगानीका क्षेत्र हुन् । 

यस्तै, सडक स्तरोन्नति, इन्धन स्टेशन, विद्युतीय सवारी चार्जिङ स्टेशनजस्ता हाइवे र पुल परियोजना, पर्यटकका लागि चार्टर्ड उडान, हवाई सेवा तथा विमानस्थल स्तरोन्नति र सार्वजनिक यातायात, आवास, पानी र सरसफाइ, मनोरञ्जन क्षेत्रहरूमार्फत रणनीतिक लगानीका अवसर छन् । यसका साथै डुडेझारी, दैजी छेला औद्योगिक क्षेत्र र दोधारा चाँदनी सुक्खा बन्दरगाह विकास ।

शिक्षा, स्वास्थ्य, खेलकुद र सूचना प्रविधिः हाल यहाँ चिकित्सक जनसङ्ख्या अनुपात १ः १९००० छ । जबकी विश्व स्वास्थ्य संगठनको मापदण्ड १ः१००० छ । यसर्थ ई—हेल्थ, डाइग्नोस्टिक र ग्रामीण पहुँचका लागि लगानीको प्रचुर सम्भावना छ । यहाँ जनसङ्ख्याको ४३ प्रतिशत १९ वर्षमुनिका युवाहरू छन् । समग्रमा ६० प्रतिशत युवाको उपस्थिति छ । यस्तो अवस्थामा आवासीय नमुना विद्यालय, पोली–टेक्निक, प्राविधिक शिक्षालय, मेडिकल कलेज, डिजिटल पूर्वाधार, ग्रामीण बजार विस्तार, सफ्टवेयर विकास र आइटी सेवा, आइटी हब, प्राविधिक इन्क्यूबेटर र डेटा सेन्टरमा लगानी गर्न सकिने प्रशस्त ठाउँ छ ।  

पछिल्लो समय लगानीको अर्को क्षेत्र खेल पूर्वाधार हो । खेल क्षेत्रमा सुदूरपश्चिमको योगदान करिब ४० प्रतिशत रहेको विज्ञहरूको दावी छ । खेलाडी र यहाँका दर्शकको लगाव अत्यधिक छ,  नेपाल प्रिमियर लिग (एनपिएल) त्यसको उदाहरण हो । नेपाल क्रिकट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौँको क्रिकेटग्राउण्डमा उपस्थित करिब ७० प्रतिशत दर्शक सुदूरपश्चिमकै र ९६ मध्ये २८ वटा खेलाडी सुदूरपश्चिमकै रहेको बताउँदै हुनुहुन्थ्यो । यसलाई अर्थतन्त्रसँग जोड्न यहाँ पर्याप्त ठाउँ छ । 

सुदूरपश्चिम किन अबको गन्तव्य ?

सीमापार व्यापार र ठूलो बजार पहुँचः भारतसँगको खुला सीमा, निकट बजार र यातायात सञ्जालले सुदूरपश्चिमलाई क्षेत्रीय व्यापारिक केन्द्र बनाउन सक्छ । भारतका दुई प्रमुख राज्यहरू उत्तराखण्ड र उत्तरप्रदेशसँग हामी जोडिएका छौँ, जहाँ २७ करोड जनसङ्ख्या छ । दिल्ली, लखनऊ, बरेली, देहरादुन र अन्य सहरमा सहज सडक पहुँच छ । त्यसैले यहाँको उत्पादन र ऊर्जा खपतका लागि पर्याप्त असर छन् । 

हरित अर्थतन्त्रको केन्द्रविन्दुः देशमै बढी वन क्षेत्र रहेको यस प्रदेशमा जलवायु प्रतिरोधात्मक, नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जा आधारित जीविकोपार्जनका अवसर छन् ।  

‘भर्जिन ल्याण्ड’ः धार्मिक क्षेत्र, सांस्कृति विविधता र पर्यापर्यटनका दृष्टिले ‘भर्जिन’ ल्याण्ड छ । यहाँ भारतीय धार्मिक पर्यटकदेखि साहसिक विश्वपर्यटनलाई लोभ्याउन सम्पदाहरू छन् । 

श्रम केन्द्रित युवा जनशक्तिः अहिलेको विश्वको सबैभन्दा ठूलो सम्पत्ति मानव पुँजी नै हो ।  सुदूरपश्चिममा हाल १९ वर्षमुनिको जनशक्ति ४३ प्रतिशत र ६० वर्षमुनिको युवाको हिस्सा ६० प्रतिशत छ । यो मानव पुँजीलाई उत्पादनमा लगाउन र श्रम केन्द्रित उद्यमका लागि तयार गरी लाभ लिन सकिन्छ । 

मूल्य श्रृङ्खला क्षमताः घरेलु र सीमापारी बजारका लागि कच्चा पदार्थको उत्पादन र आपूर्तिको अपार उपलब्धता छ ।  

प्रदेश सरकारको लगानीमैत्री सोच र तयारीः लगानीकर्ताले नाफा मात्र होइन, सुरक्षाको प्रत्याभूति पनि चाहन्छन् । यसलाई ध्यानमा राख्दै प्रदेश सरकारले कर छुट र सहुलियत, लगानी सुरक्षित गर्ने कानुनी संरचना, दर्ता र अनुमतिका लागि ‘एकद्वार सेवा केन्द्र’, पूर्वाधार निर्माणमा सरकारी प्राथमिकता, सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनलगायत  नीतिगत व्यवस्था गरेको छ । यी व्यवस्थामार्फत प्रदेशलाई ‘लगानी सुगम गन्तव्य’ का रूपमा स्थापित गर्न ठोस कदम चालिएको छ । प्रदेश सरकार हाल दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटिसकेको छ, जसमा समावेशी, नवप्रवर्तनशील र लगानीमैत्री रणनीतिहरूलाई मूलधारमा ल्याउने तयारी छ । यस योजनामा नजी क्षेत्र निर्देशित विकास ढाँचालाई केन्द्रमा राख्ने दिशामा कार्य भइरहेको छ । यी कार्यले लगानीकर्तालाई सहजता, विश्वास र दीर्घकालीन नाफा सुनिश्चित गर्नेछ भन्ने हाम्रो विश्वास हो ।

‘समृद्धिको यात्रामा साझेदारी’

प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना (२०७८÷७९—२०८२÷८३) अवधिमा कुन क्षेत्रमा कस्तो उपलब्धि हासिल गर्ने भनेर लक्ष्य निर्धारण गरेको छ । यस अवधिमा आर्थिक वृद्धिदर तीन दशमलव  ६ बाट २०८२÷८३ सम्म १० दशमलव पाँच प्रतिशत पु¥याउने ‘महत्वाकांक्षी’ लक्ष्य निर्धारण गरिएको छ । यस्तै, प्रतिव्यक्ति आय वार्षिक ९१८ अमेरिकी डलरबाट एक हजार ७१५ डलर पु¥याउने भनिएको छ । निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई २४ दशमलव छ प्रतिशतबाट ११ प्रतिशतमा झार्ने तथा बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्यालाई २५ दशमलव तीन प्रतिशतबाट १३ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 
यस्तै, मानव विकास सूचकाङ्कलाई शून्य दशमलव ५४७ बाट शून्य दशमलव ६२१ मा पु¥याउने, अपेक्षित आयु ६९ दशमलव आठबाट ७२ वर्ष पुर्याउने, बेरोजगारी दर सात दशमलव पाँचमा झार्ने तथा ९९ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुर्याउने लक्ष्य लिइएको छ । अब हामी अन्तिम वर्षमा छौँ, हालसम्मका तथ्याङ्कले पूर्वनिर्धारित लक्ष्य भेट्टाउन मुस्किल छ । त्यसैले हामी के निष्कर्षमा पुगेका छौँ भने प्रदेशको समृद्धि केवल सरकारको एकल प्रयासले सम्भव हुँदैन । निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, प्रवासी नेपाली, सहकारी संस्था र स्थानीय समुदाय सबैको सहभागिताबाट मात्रै यो सम्भव छ । त्यसका लागि प्रदेश सरकारले सरकारले साझेदारी, सहकार्य र पारदर्शितामा आधारित आर्थिक विकासलाई प्राथमिकता दिएको छ । 

यस सम्मेलनमार्फत हामी सबैलाई एकै थलोमा ल्याएर पूर्वनिर्धारित लक्ष्य पछ्याउन र सम्भावनाको नयाँ अध्याय खोल्ने सपना देखिरहेका छौँ । त्यसैले प्रदेश सरकारले प्रदेशका सपना, आशा र सम्भावनामा लगानी गर्न सबैलाई निम्तो गरिरहेका छौँ । प्रदेश सरकारले बिजुली उत्पादन गरेर उज्यालो फैलाउन, उद्योग खोलेर रोजगारी सिर्जना गर्न, कृषिलाई समुन्नतिको आधार बनाउन, पर्यटन विकासमार्फत हाम्रो सौन्दर्यलाई संसारभर पुर्याउन आह्वान गरिरहेको छ ।

प्रदेश नीति तथा योजना आयोग र सिङ्गो प्रदेश सरकारले बुझेको छ—लगानी केवल पैसा होइन, विश्वास पनि हो । त्यसैले सुदूरपश्चिम प्रदेश सरकारले लगानीकर्ताको नाफा र व्यवसाय सुरक्षा, सहज अनुमति प्रक्रिया, कर प्रोत्साहन, कानुनी तथा नीतिगत सहजीकरण, सार्वजनिक–निजी साझेदारी जस्ता आधारहरू तयार गरिसकेको छ । सुदूरपश्चिमलाई अब अवसरहरूको भूमिमा बदल्ने सरकारको अठोट छ । त्यसमा नीति तथा योजना आयोगले आवश्यक योगदान गरिरहेको छ । हामी सबैलाई अपिल गर्दछौँ– आउनुहोस् सँगसँगै हातेमालो गरौँ । तपाईँ–हाम्रो सहकार्यले उपलब्ध स्रोतको भरपूर उपयोग गर्नेछ । त्यसले रोजगारी सिर्जना गर्नेछ । नागरिकको जीवन बदल्ने छ र यसले प्रदेशलाई मात्र नभई सिङ्गो नेपाललाई समृद्धितर्फ डोर्याउन योगदान पुग्नेछ ।
(लेखक सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको सदस्य हुनुहुन्छ)