भदौ १२, २०८२ बिहिबार

पेरिस, १२ भदौ : फ्रान्सको प्रमुख अति–दक्षिणपन्थी पार्टीले बिहीबार प्रधानमन्त्री फ्रान्कोइस बायरूसँग बजेटबारे सम्झौता गर्न ‘धेरै ढिलो’ भइसकेको भन्दै अस्वीकार गरेको छ ।

    सरकारले खर्च कटौती गर्न चाहेको बजेटबारे महिनौँदेखिको गतिरोधपछि आगामी सेप्टेम्बर ८ मा आह्वान गरिएको विश्वासको मतमा बायरूले आफ्नो अस्तित्व जोगाउनु पर्नेछ ।

    तर अति–दक्षिणपन्थी र वामपन्थी दलहरूले समर्थन नगर्ने घोषणा गरेपछि विश्लेषकहरूले गत डिसेम्बरमा पदभार ग्रहण गर्नुभएका ७४ वर्षीय बायरूको प्रधानमन्त्री पद केही महिनामै जोखिममा पर्नसक्ने चेतावनी दिएका छन् ।

    “धेरै ढिलो भयो । प्रधानमन्त्री महोदय, तपाईंले फ्रान्सेली जनतालाई फाइदा हुने बजेट बनाउन पर्याप्त अवसरहरू गुमाउनुभयो”, नेसनल ¥याली (आरएन) का उपनेता सेबास्टियन चेनुले टिएफ१ टेलिभिजनलाई भन्नुभयो, “पृष्ठ पल्टिएको छ । संवाद अब विगतको कुरा भइसकेको छ ।”

    बायरूले सोमबारदेखि पार्टी नेताहरूसँग वार्ता सुरु गर्ने घोषणा गर्नुभएको थियो । उहाँले फ्रान्सको ऋण भार कम गर्नका लागि दलहरूले बचत उपायहरूमा सहमति जनाए मात्र छलफल गर्न सकिने बताउनुभयो ।

    तर उहाँले गर्मीमा पार्टी नेताहरूसँग सम्पर्क नगरेको कारण ‘उहाँहरू बिदामा हुनुहुन्थ्यो’ भन्ने टिप्पणी गर्दा चेनुले कडा असन्तुष्टि जनाउनुभयो । चेनुले भन्नुभयो, “यो बयान अपर्याप्त मात्र होइन, तर ५० वर्षदेखि राजनीतिमा सक्रिय व्यक्तिबाट आएको हुनाले निकै चिन्ताजनक छ ।”

    यदि बायरूले विश्वासको मत गुमाउनुभयो भने, उहाँले आफ्नो सम्पूर्ण सरकारसँगै राजीनामा दिनुपर्नेछ । त्यसपछि राष्ट्रपति इमानुएल म्याक्रोनले उहाँलाई पुनः नियुक्त गर्न सक्नुहुनेछ वा नयाँ व्यक्तित्वलाई प्रधानमन्त्री चयन गर्न सक्नुहुनेछ ।

    यस अवस्थामा, सन् २०१७ मा पदभार सम्हालेयता म्याक्रोनले सातौँ प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना हुनेछ ।

    त्यसैगरी, उहाँले चाहेको खण्डमा राष्ट्रपति म्याक्रोनले एक वर्षभन्दा बढी समयदेखि फ्रान्सलाई सताइरहेको राजनीतिक गतिरोध तोड्न चाँडै चुनावको आह्वान पनि गर्न सक्नुहुनेछ ।
    तर बायरूले भने आकस्मिक चुनावले स्थिरता ल्याउन नसक्ने चेतावनी दिनुभएको छ । उहाँले सन् २०२४ को गर्मीमा भएको पछिल्लो चुनावले नै नेसनल ¥याली (आरएन) लाई संसद्को सबैभन्दा ठूलो एकल पार्टीको रूपमा स्थापित गरेको स्मरण गराउनुभयो ।

    बायरूले आफैँ विश्वासको मत जित्ने सम्भावनाबारे आशावादी नभएको स्वीकार गर्दै भन्नुभयो, “आज, हामीलाई थाहा छ कि संसद्बाट यो विश्वास प्राप्त गर्न सक्दैनौँ, तर लामो समयदेखि हाम्रो हातमा बहुमत छैन भन्ने पनि प्रष्ट छ ।”

    तर उहाँले देशको ऋण भार घटाएर फ्रान्सका युवाहरूलाई सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँका अनुसार, यो ऋण युद्धपछिको पुस्ताका ‘बुमरहरूको आरामका लागि’ वर्षौँदेखि जम्मा हुँदै आएको हो ।