भदौ ११, २०८२ बुधबार

वासिङ्टन, ११ भदौ (एएनआई) : अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा ‘ठूलो बैठक’ को अध्यक्षता गर्नुहुने घोषणा गर्नुभएको छ ।

    बैठकमा युद्धपछिको गाजाको व्यवस्थापनबारे ‘व्यापक योजना’ मा छलफल हुनेछ । टाइम्स अफ इजरायलले फक्स न्युजलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

    टाइम्स अफ इजरायलका अनुसार, विटकफले युद्धपछिको व्यवस्थापनका लागि अमेरिकी योजनाको अस्तित्व सार्वजनिक गर्नुभएको यो पहिलो पटक हो ।

    “धेरै मानिसले यो योजना कति बलियो छ र यसको अर्थ कति राम्रो छ भनेर हेर्नेछन् । यसले राष्ट्रपति ट्रम्पको मानवीय उद्देश्यहरूलाई प्रतिबिम्बित गर्छ”, विटकफले फक्स न्युजलाई दिनुभएको अन्तर्वार्तामा भन्नुभयो ।

    उहाँले युद्धविराम सम्झौताबारे ट्रम्प प्रशासनको आधिकारिक धारणा दोहोर्‍याउँदै आंशिक गाजा बन्धक सम्झौताका विपक्षमा रहेको बताउनुभयो ।

    यसअघि, हमासले अगस्ट १८ मा अरब मध्यस्थकर्ताहरूको पछिल्लो प्रस्ताव स्वीकार गरेको थियो । तर, ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ‘हमासलाई पूर्ण रूपमा ध्वस्त पारेपछि मात्र बन्धकहरूलाई मुक्त गर्नुपर्छ’ भन्ने धारणा राख्दै आंशिक सम्झौताविरुद्ध समर्थन जनाउनुभएको थियो । 

    यद्यपि, टाइम्स अफ इजरायलका अनुसार ह्वाइट हाउसले पछिल्लो चरणबद्ध बन्धक सम्झौता प्रस्तावको समीक्षा गरिरहेको बताएको छ ।

    हमासले ६० दिनको प्रस्ताव स्वीकार गरे पनि विटकफले सम्झौताको ढिलाइका लागि लडाकू सङ्गठनलाई दोष दिनुभयो । उहाँले भन्नुभयो, “उनीहरूले गत महिना प्रक्रिया ढिलो पार्न खोजे ।”

    उहाँका अनुसार इजरायलले तीव्र दबाब दिएपछि मात्रै हमासले यो प्रस्ताव स्वीकार गरेको हो । “अब हामी त्यो सम्झौता स्वीकार गर्छौं भन्ने कुरा हमासले गरिरहेको छ । मलाई लाग्छ उनीहरूले यसरी भन्नुको कारण इजरायलीहरूको तीव्र दबाब हो”, उहाँले फक्सलाई भन्नुभयो । 

    तर, इजरायलले यो सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा उहाँले केही टिप्पणी गर्नुभएन ।

    इजरायलले हालसम्म सम्झौता स्वीकार गरेको छैन र आफ्नो गाजा निकासी योजनाको एक अंशका रूपमा हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने उद्देश्यसहित स्थल अभियान चलाइरहेको छ ।

    सोमबार बिहानदेखि गाजामा भएका इजरायली आक्रमणले कम्तीमा ६१ जनाको मृत्यु भएको छ, जसमा सात जना सहायता खोज्ने क्रममा मारिएका थिए । 

    गाजाको नागरिक सुरक्षाले अगस्ट ६ देखि इजरायलले गाजा सहरमा एक हजार भवन ध्वस्त पारेको बताएको छ । सयौँ मानिस भग्नावशेषमा फसेका छन् भने निरन्तर गोलाबारी र अवरुद्ध मार्गका कारण उद्धार तथा सहायता कार्यमा गम्भीर अवरोध भएको छ ।