भदौ १०, २०८२ मंगलबार

तेल अभिव, १० भदौ (एएफपी) : गाजाको युद्ध अन्त्य गर्दै त्यहाँ रहेका बन्धकहरूलाई सुरक्षित फिर्ता ल्याउन मागसहित मङ्गलबार बिहान इजरायलका प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । उनीहरूले साँझका लागि तोकिएको सुरक्षा क्याबिनेट बैठकअघि सरकारलाई दबाब दिने प्रयास गरेका हुन् ।

    एएफपीका पत्रकारहरूले तेल अभिवमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरी इजरायली झण्डा फहराएको र बन्धकहरूको तस्बिर बोकेको दृश्य देखेका थिए । यस्तै, इजरायली मिडियाका अनुसार अमेरिकी दूतावासको शाखा नजिकै र देशभरका मन्त्रीहरूको घर अगाडि पनि र्‍यालीहरू भएका छन् ।

    “टेबलमा प्रस्ताव तयार छ । हामी हाम्रा नेताहरूलाई वार्तामा बस्न र सहमति नभएसम्म उठ्न नदिने माग गर्छौं”, अक्टोबर २०२३ मा आफ्नो छोरा अपहरणमा परेका परिवारको प्रतिनिधित्व गर्ने फोरमले विज्ञप्ति जारी गर्दै भनेको छ ।

    सुरक्षा मन्त्रिपरिषद् बैठकको एजेन्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । तर स्थानीय समाचारहरूले युद्धविराम र बन्धक मुक्तिको नयाँ वार्ताबारे छलफल हुने सम्भावना औँल्याएका छन् ।

    मन्त्रिपरिषद्ले अगस्टको सुरुमा सेनाले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको थियो । यसले बन्धकहरूको सुरक्षामा थप चिन्ता पैदा गरेको छ । पछिल्ला हप्तामा देशभर हजारौँ मानिस सडकमा उत्रिएर विरोध प्रदर्शनमा सहभागी भए ।

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत हप्तामै गाजामा बाँकी रहेका सबै बन्धकको रिहाइका लागि तत्काल वार्ता सुरु गर्न आदेश दिनुभएको थियो । तर सोसँगै उहाँले गाजाको सबैभन्दा ठूलो सहर कब्जा गर्ने आक्रमण योजनालाई अझ प्रबल बनाउनुभएको थियो ।

    हमासले मध्यस्थकर्ताहरूले अघि सारेको नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको बताएकै बेला यो घटनाक्रम आएको हो । उक्त प्रस्तावअनुसार प्रारम्भिक ६० दिनको अवधिमा कब्जामा रहेका प्यालेस्टिनी कैदीहरूको सट्टामा बन्धकहरूको चरणबद्ध रिहाइ हुने योजना छ ।