भदौ ८, २०८२ आइतबार

दमौली (तनहुँ), ८ भदौ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले विशेष परिस्थितिमा प्राप्त यो जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नीतिगत रूपमा चल्ने मन्त्रालय बनाउने प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । मन्त्रालयको काम कर्मचारी सरुवा बढुवामात्र हो कि भन्ने रहेकामा त्यसलाई चिर्दै सङ्घीय व्यवस्थालाई सुदृढ बनाउने काम पनि मन्त्रालयको रहेको बताउनुभयो । 

मन्त्री न्यौपानेले कर्मचारी र सेवाग्राहीको गुनासो सुनुवाइका लागि मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना गरिएको बताउँदै त्यहाँबाट गुनासो सुनुवाइ हुन थालेको बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटीका उपसचिव खिमबहादुर कुमाल, शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष रघुनाथ पौडेललगायतले मन्त्री न्यौपानेलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।