भदौ २, २०८२ सोमबार

बैतडी, २ भदौ : हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन् । विसं २०१८ देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन । 

    हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताउनुभयो । “वर्षात सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ”, उहाँले भन्नुभयो, “पहिरोले चारैतिर जमिन बगाइसकेको छ । बस्ती जोखिममा छ । अन्त सरौँ आर्थिक अवस्था कमजोर छ । जोखिम मोलेर बसिरहेका छौँ ।”

    यहाँका धेरैले बसाइसराइ सरिसकेका छन् । पहिरोले घर तथा जमिन बगाएपछि अधिकांश बसाइ सरेका स्थानीय रामदत्त जोशीले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका २० परिवार मात्रै अहिले यहाँ बसोबास गर्छन् । 

    स्थानीय भोजराज जोशीले भन्नुभयो, “विसं २०१८ कै पहिराले हाम्रो गाउँका हरेक घर बाङ्गा छन् । भित्रभित्रै जमिन भासिएपछि घरहरु बाङ्गा भएका हुन् । पहिरोको जोखिममै बस्नु परिरहेको छ ।”  

    डोल पहिरोले हालसम्म नौ जनाको ज्यान लिइसकेको छभने दुई सय बढी रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ । पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन राजा वीरेन्द्रले हुकुम प्रमांगी दिएका स्थानीय बुढापाका बताउँछन् । तर राजनीतिक खिचातानी भएपछि अन्यत्र बसाइ सर्ने सपना अधूरै रह्यो । आर्थिक अवस्था सबल भएका सबैले तराईतिर जमिन किनेर उतै गइसकेका छन् । तर गरिब र दलित समुदाय भने जोखिममै बस्न बाध्य छन् । 

    पहिरोले प्रत्येक वर्ष खानेपानीको मुहान बगाउँदै आएको छ । त्यसपछि धमिलो पानी प्रयोग गर्न बाध्य हुने गरेको स्थानीय बहादुर भुलले बताउनुभयो । डोलबस्ती स्थानान्तरणका लागि कुनै पहल हुन सकेको छैन । यहाँको बस्ती स्थानान्तरण नै उपयुक्त विकल्प हुने स्थानीयवासीको भनाइ छ ।