अर्घाखाँची, १ भदौैः अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा अर्घाभगवती मन्दिरमा ऐतिहासिक लाखे नाच सम्पन्न भएको छ ।
श्रीकृष्णजन्माष्टमीका अवसरमा लिच्छिवीकालदेखि नै अर्घा दरबार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । श्रीकृष्णजन्माष्टमीको दिन प्रहर, प्रहरमा भगवान् श्रीकृष्णको पूजाआजा र कालभैरवको पूजागरी कालभैरवको अगाडि लाखे नाच नाच्ने परम्परा रहेको अर्घा मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो ।
लाखे नाच नाच्दा भगवान् शिव र भगवती देवी खुसी हुने धार्मिक मान्यता छ । भगवान् शिवको प्रतीकका रुपमा कालभैरव जस्तैगरी लाखे नाचिन्छ । यहाँ नाचिने यो नाच अर्घाको लाखे नाचले पनि परिचित रहेको स्थानीय ठाकुर गन्धर्बले बताउनुभयो । यो नाच सात तालसम्म नाचिन्छ ।
कंशको बध गर्न कृष्ण जन्मिएको खुसियालीमा बाइसेचौबिसे राज्यअन्तर्गत पर्ने अर्घा भगवती मन्दिरमा लाखे नाच नाच्ने परम्परा रहेको स्थानीय कृष्ण भुसालको भनाइ छ ।