भदौ १, २०८२ आइतबार

मान्म (कालीकोट), १ भदौः पहिरोका कारण कर्णाली राजमार्गको कालीकोट सडकखण्डका ठाउँठाउँमा यातायात अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा यातायात अवरुद्ध भएको हो । 
    
    कर्णाली राजमार्गको कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार दैलेखमा शनिबार साँझदेखि नै यातायात अवरुद्ध छ भने कालीकोटको गगने र बिहानीको पहिरो हटाउने काम भइरहेको छ । 
    
    रातिदेखिको अविरल वर्षाले कर्णाली करिडोरअन्तर्गत पर्ने रास्कोट र पचाल झरनाको बीचमा पर्ने फुगाड खोला बढेकाले मोटरसाइकल र साना गाडी तर्न सकेका छैनन् । पहिरोले सडक अवरुद्ध भएपछि कालीकोट हुँदै सुर्खेत जाने सवारी विभिन्न ठाउँमा रोकिएका छन् ।