गलेश्वर (म्याग्दी), ३० साउनः बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउनुहुन्छ । बाँसका वस्तु बनाउन सिपालु कालीगढ उहाँले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आउनुभएको छ । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ ।
उन्नाइस वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उहाँले सीप भर्न थाल्नुभएको हो । डोकाडाला बनाउने उहाँको जाँगर जवानको जस्तै छ । “अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उहाँले भन्नुभयो ।
विपन्न परिवारका परियारले काम नगरे साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उहाँ गर्वका साथ सुनाउनुहुन्छ । “विगतमा बजारमा बेच्न जानुपथ्र्यो अहिले घरमै ग्राह आउँछन्,” उहाँले भन्नुभयो । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाउनुभयो, बिहे गरिदिनुभयो ।
परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गर्नुभएको छ । एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ ।