साउन २८, २०८२ बुधबार

काठमाडौँ, २८ साउन : सांसदहरुले सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकको मस्यौदा संविधानको मर्म र भावनाविपरीत बनाउन नहुने भन्दै सरकारको ध्यानार्कषण गराउनुभएको छ ।
   
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै  सांसद देवेन्द्र पौडेल र नारायणप्रकाश साउदले सरकारले तयार गरेको उक्त मस्यौदाले व्यक्तिको गोपनीयतासम्बन्धी हक खण्डित हुने धारणा व्यक्त गर्नुभयो ।
 
उहाँहरूले गुप्तचार विभागमा व्यक्तिको स्वतन्त्रतामा खलल पुग्नेगरी निजी जीवनसँग सम्बन्धित पक्षहरू ‘रेकर्ड’ तथा अभिलेखीकरण गर्नु संविधान विपरीत हुने भएका संविधानसम्मन विधेयक ल्याउन सरकारसँग अनुरोध गर्नुभयो ।
 
नागरिकको गोपनीयतामाथि गम्भीर आघात पुग्ने गरी फोन कल, म्यासेज, सहज कुराकानी, संवाद, भिडियो आदिलाई रेकर्ड गर्नेगरी संविधानप्रदत्त नागरिकको हकविपरीत विधेयक ल्याउन नहुने धारणा उहाँहरूले व्यक्त गर्नुभयो ।
 
    यसैगरी सांसद दिलेन्द्रप्रसाद बडूले कैलालीको धनगढीस्थित कारागारमा दुई पक्षका कैदीबीच भएको हिंसात्मक झडपको घटना अन्य कारागारमा दोहोरिन नदिन सरकारको ध्यानार्कषण गराउनुभयो ।
 
    “जम्मा १५० जना क्षमताको कैलाली कारागारमा ७०० जना किन र कसरी थुप्रिन पुगे ? यस अवस्थामा सुधारका लागि सरकारको के तयारी छ, संसद्लाई जानकारी चाहिन्छ”, उहाँले  भन्नुभयो ।
   
सांसद पुष्पबहादुर शाहले कैलाली कारागारमा भएको जस्तै हिंसात्मक घटना दोहोरिन नदिन आग्रह गर्दै भारतको उत्तराखण्ड राज्यअन्र्तगत उत्तरकाशीको बाढीपहिरामा परी ज्यान गुमाउने नेपालीका परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो । 
   
यसैगरी सांसद ठाकुरप्रसाद गैरेले ‘हमास’द्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको उद्धारका पक्षमा भइरहेको कूटनीतिक पहललाई अझ प्रभावकारी बनाउन अनुरोध  गर्नुभयो ।  
   
सांसद देवप्रसाद तिमलसेनाले किसानलाई मलखादको व्यवस्था, सुक्खा क्षेत्र घोषणा गरिएका क्षेत्रहरुमा राहतको प्रबन्ध र खानेपानीका लागि बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।
   
सांसद नारायणी शर्माले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङमा आधुनिक सहर बनाउने गुरुयोजनाको कामले गति लिन नसकेको भन्दै आवश्यक समन्वयसहित सहजीकरणका लागि सङ्घीय सरकारको ध्यानार्कषण गराउनुभयो ।    
 
सांसद प्रकाश ज्वालाले बँदेल र बाँदरका कारण किसान प्रताडित भएको उल्लेख गर्दै किसानको मनोवल बढाउनेगरी राहत सुविधाको व्यवस्था होस् भन्नुभयो ।  
 
सांसद प्रभु हजाराले पर्सा जिल्लाको गण्डक नहरस्थित पुल भाँचिएपछि स्थानीय जनता मर्कामा परेको उल्लेख गर्दै सो स्थानमा यथासीघ्र यथासीघ्र ‘बेलिब्रिज’ निर्माणका लागि सरकारको ध्यानाकर्षढा गर्नुभयो ।
   
सांसद दुर्गा राईले सरकारले विचौलियाको स्वार्थअनुकूल नीतिगत निर्णय गर्न र ऐनहरु बनाउन खोजेको आरोप लगाउनुभयो ।

सांसद निर्मला कोइरालाले अनावश्यक वादविवादमा नगरी हातोमालो गरेर देश र जनताका पक्षमा काम गर्न पार्टी नेताहरूसँग आग्रह गर्नुभयो ।
 
शून्य समयमा भाग लिनुहुने सांसदहरू पूर्णबहादुर घर्ती मगर, प्रेम सुवाल, दीपा शर्मा र धनबहादुर बुढाले आआफना निर्वाचन क्षेत्रका मागसहित समसामयिक विषयमा सरकारको ध्यानार्कषण गराउनुभएको थियो ।