ढाका, २८ साउन (एपी) : बङ्गलादेशी भ्रष्टाचार विरोधी अधिकारीहरूले बुधबार अदालतमा पूर्व बेलायती मन्त्री तुलिप सिद्दिक विरुद्ध गवाही दिएका छन् ।
सिद्दिकमाथि पदच्यूत प्रधानमन्त्री शेख हसिनासँगको पारिवारिक सम्बन्धको दुरुपयोग गरेर बङ्गलादेशमा सरकारी जग्गा प्राप्त गरेको आरोप लगाइएको छ ।
हसिनाकी भतिजी सिद्दिकले जनवरीमा प्रधानमन्त्री किर स्टार्मरको सरकारमा भ्रष्टाचार विरोधी मन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँले लन्डनमा आफ्नी काकीसँग जोडिएका सम्पत्तिहरूमा बसेको र बङ्गलादेशमा भ्रष्टाचार विरोधी अनुसन्धानमा उहाँको नाम समावेश भएको रिपोर्टहरू आएपछि राजीनामा दिनुभएको थियो ।
उहाँमाथि उहाँकी आमा शेख रेहाना, भाइ रादवान मुजिब र बहिनी अजमिनासँग मिलेर मुद्दा चलाइएको छ । सिद्दिकमाथि राजधानी ढाकाको नजिकैको टाउनसिप परियोजनामा सरकारी जग्गा प्राप्त गर्न सहजीकरण गरेको आरोप छ ।
चारैजनालाई पहिले अभियोग लगाइएको थियो र अदालतमा उपस्थित हुन भनिएको थियो, तर अभियोजन पक्षले उहाँहरू फरार हुनुभएको र उहाँहरूलाई अनुपस्थितिमा न्याय दिइने बताएको छ ।
देशको भ्रष्टाचार विरोधी आयोगका अधिकारीहरूको गवाहीका साथ ढाकाको विशेष न्यायाधीश अदालत–४ मा मुद्दा औपचारिक रूपमा बुधबार सुरु भयो । बुधबार दिउँसोसम्म अदालतले दुई अधिकारीको गवाही सुनेको र तेस्रोले भोलिपल्ट गवाही दिने अपेक्षा गरिएको सरकारी अभियोजक मुहम्मद तारिकुल इस्लामले बताउनुभयो ।
सिद्दीकका वकिलहरूले पहिले आरोपहरू आधारहीन र राजनीतिबाट प्रेरित भएको बताएका थिए ।
छुट्टै, भ्रष्टाचार विरोधी अनुसन्धानले सिद्दीकको परिवारले बङ्गलादेशमा आणविक उर्जा संयन्त्रका लागि रुससँग सन् २०१३ को सम्झौतामा मध्यस्थता गरेको आरोप लगाएको छ । उक्त सम्झौतामा ठूलो रकमको दुरुपयोग भएको बताइएको छ ।
सिद्दिकले संसद्मा उत्तरी लन्डन जिल्ला ह्याम्पस्टेड र हाइगेटको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले बेलायतको मध्य–वामपन्थी लेबर पार्टी सरकारमा वित्तीय भ्रष्टाचारको सामना गर्न जिम्मेबार मन्त्री अर्थात सहरी मन्त्रीका रूपमा सेवा गर्नुभयो ।
गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको जन विद्रोहमा १५ वर्षको शासनपछि हसिना अपदस्थ हुनुभएको थियो । उहाँ भारत भाग्नुभएको थियो र त्यसबेलादेखि निर्वासनमा हुनुहुन्छ ।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम नेताका रूपमा पदभार ग्रहण गर्नुभयो र पूर्व प्रधानमन्त्रीमाथि मुद्दा चलाउने प्रतिज्ञा गर्नुभयो । विद्रोहका क्रममा सयौँ प्रदर्शनकारीहरू मारिए र हसिनाले अहिले मानवता विरुद्धको अपराधसहितका आरोपहरूको सामना गरिरहनुभएको छ ।