जिनेभा, २७ साउन : युरोपेली सङ्घले प्लास्टिक प्रदूषण अन्त्यका लागि विश्वव्यापी सन्धिमा सहमति जनाउन तयार रहेको स्पष्ट पारेको छ, तर अन्यायपूर्ण वा अविचारित सम्झौता आफूलाई मान्य नहुने बताएको छ ।
संयुक्त राष्ट्रसंघको आयोजनामा जिनेभामा भइरहेको बहुपक्षीय वार्ता अब दुई दिनमै टुङ्ग्याउनु पर्ने चरणमा पुगेको छ । यस्तो अवस्थामा युरोपेली सङ्घका वातावरण आयुक्त जेसिका रोस्वालले तेल उत्पादक मुलुक र प्लास्टिक नियन्त्रणको पक्षमा रहेका देशहरूबीच अब सहमतिको समय आएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“हामी प्लास्टिक प्रयोग गर्छौँ र भविष्यमा पनि यसको आवश्यकता हुनेछ, तर प्लास्टिक प्रदूषणलाई सहन सकिँदैन । त्यसैले अब यस समस्यालाई यथाशीघ्र अन्त्य गर्नुपर्छ ।”
दुई पक्षबीच अझै ठूलो मतभेद रहेको देखिएको छ । साउदी अरेबिया, कुवेत, रसिया र इरान जस्ता तेल उत्पादन गर्ने देशहरू मिलेर बनेको समूहले सन्धि केवल फोहोर व्यवस्थापनमा सीमित राख्नुपर्ने अडान राखेका छन् । तर युरोपेली सङ्घसहित अन्य राष्ट्रहरू भने प्लास्टिकको उत्पादनमा नै नियन्त्रण गर्नुपर्ने र विषाक्त रसायनहरूको प्रयोग क्रमशः बन्द गरिनुपर्ने पक्षमा उभिएका छन् ।
डेनमार्कका वातावरण मन्त्री म्याग्नस हेइनिकेले दुई पक्षबीचको मतभेद गहिरिँदै गएको भए तापनि सहमतिको आवश्यकता अझै बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो,“जति ढिलो गरिन्छ, समस्या उति जटिल हुँदै जान्छ । त्यसैले अहिले नै सहमति गर्ने उत्तम समय हो ।”
उहाँले सबै पक्षलाई आ–आफ्नो अडान पुनरावलोकन गर्न अनुरोध गर्नुभयो । “यदि सबैजना आफ्ना मागमै अडिग रह्यो भने सहमति सम्भव छैन,” उहाँले भन्नुभयो,“हामी सबैले केही न केही समायोजन गर्नुपर्छ, ताकि परिणामस्वरूप सशक्त, कानुनीरूपमा बाध्यकारी र दीर्घकालीन समाधान दिने सन्धि गर्न सकियोस् ।”