साउन २७, २०८२ मंगलबार

फुङ्लिङ, २७ साउन : ताप्लेजुङमा जारी तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप–२०८२ को सेमिफाइनल समीकरण पूरा भएको छ । 

आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा सलहेस युवाक्लब सिरहाले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिमचरणमा स्थान बनायो ।

खेलको पाँचौँ मिनेटमै सदिया आदमले गोल गर्दै सिरहालाई अग्रता दिलाउनुभयो । ३५औँ मिनेटमा सुजित बुढाथोकीको गोलले अग्रता दोब्बर बनाउनुभयो ।  ३७औँ मिनेटमा युसुफमालिकले गोल गर्दै स्कोर ३–० बनाएको थियो । चौथो गोल आत्मघाती गोलमार्फत सिरहाले उपहारस्वरूप प्राप्त गर्नुभयो ।

६६ औँ मिनेटमा युसुफमालिकले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ५–० पु¥याएको थियो । ८०औँ मिनेटमा मोहित गुरुङले गरेको गोलसँगै सिरहाले फिदिमलाई ६–० ले पराजित गराउनुभयो । उत्कृष्ट प्रदर्शन गरेका युसुफ मालिक ‘म्यानअफ द म्याच’ घोषित हुनुभएको थियो । 

समूह ‘बी’मा रहेको सिरहा अब सेमिफाइनलमा साउन २९ गते रेडस्टार झापासँग प्रतिस्पर्धा गर्नेछ । झापाले प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पोखराको सहारा क्लबलाई १–० ले पराजित गर्दै अन्तिमचरणमा स्थान बनाएको हो । बुधबारबाट सुरू हुने सेमिफाइनलको पहिलो खेलमा समूह ‘ए’ का द यङ ब्रदर्स क्लब इटहरी र चर्च ब्वाइज क्लब ललितपुर भिड्ने छन् ।

 यसअघि, क्वार्टरफाइनलमा सुनसरीले तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङलाई २–१ ले पराजित गरेको थियो भने चर्च ब्वाइजले भारतीय टोली लिजेन्ड फुटबल एकेडेमीलाई १–० ले हराएको थियो । आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार साउन ३० गते खेलमैदानमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ । विजेता टोलीले नगद रु सात लाख दुई हजार ८२ प्राप्त गर्नेछ भने उपविजेताले रु तीन लाख ५० हजार ८२ पाउनेछ ।