साउन ५, २०८२ सोमबार

जलेश्वर (महोत्तरी), ५ साउन : लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि यहाँका किसान चिन्तित छन् । साउनको पहिलो साता बित्नै लाग्दासमेत जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

    १० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कूल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा मध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ । त्यसमध्ये यसवर्ष ४० हजार हेक्टरमा धानखेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्दराय यादवले बताउनुभयो ।

    उहाँका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए जिल्ला भरि रोपाइँको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो ।

    जिल्लामा सतह सिँचाइको व्यवस्था नरहेको कारण बर्सेनि धान रोपाइँको बेला समस्या हुने गरेको र किसानहरुले समयमा धानबाली लगाउन नसकेको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँले जिल्लामा अहिले समग्रमा मात्र २५ प्रतिशत रोपाइँ भएकोमा सबैभन्दा बढी सोनमा गाउँपालिकामा ४० प्रतिशत र सबैभन्दा कम मनराशिस्वा नगरपालिकामा १० प्रतिशत रोपाइँ भएको जानकारी दिनुभयो ।

    कार्यालय प्रमुख यादवले साउन १५गतेसम्म जिल्लामा पानी परेन भने किसानले खेतमा लगाएको धानका बेर्ना बुढो हुने भएकाले नसप्रिने र अपेक्षाअनुसार उत्पादन नहुने बताउनुभयो ।

    उहाँले  भदैया, हर्दिनाथलगायतका धानका जातको २५ दिनसम्मको बेर्नाले रोपाइँ भएमा राम्रो हुने बताउनुभयो ।  सोना मनसुली, बासमतिलगायतका धानका जातका ४० दिनसम्मको बेर्ना रोपार्इँ गर्दा उत्पादन राम्रो हुने बताउनुभयो । जिल्लामा दुवै थरिका धानका बेर्नाहरु ४० दिनभन्दा बढीका भइसकेको अवस्थामा अझै पानी नपर्दा किसान चिन्तित भएका हुन् ।

    गतवर्ष जिल्लाको कूल ४२ हजार पाँच सय हेक्टर जग्गामा धानखेती गरिएकामा एक लाख ५० हजार ८०० मेट्रिकटन धान उत्पादन भएको थियो । तर यसवर्ष अझै १५ दिनसम्म पानी नपरेमा जिल्लामा धान उत्पादन घट्ने अनुमान कृषि ज्ञान केन्द्रको छ ।

    पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छभने फाटफुट रुपमा किसानले रोपेको खेतको रोपोमा धाँजा फाट्न थालेको जलेश्वर नगरपालिका–८ का किसान रामआश्रे मण्डलले बताउनुभयो । पानी पर्ना साथ रोपाइँ गर्ने आशामा रहेको जलेश्वर नगरपालिका–११ का किसान महेन्द्र साहले बताउनुभयो ।