साउन २, २०८२ शुक्रबार

काठमाडौँ, २ साउनः गायिका देविका बन्दनाको म्युजिक भिडियो ‘सोलुको मैच्याङ’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सङ्गीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईलगायतको उपस्थितिमा म्युजिक भिडियो प्रिमियर गरिएको हो । 

    त्यस अवसरमा गायिका देविका बन्दनाले आफूले सोलुखुम्बुको पर्यटन तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले सोलुको मैच्याङ सृजना गरेको बताउनुभयो । “केही समयअघि चीन जाँदा सोलुखुम्बुका जनप्रतिनिधिहरुसँग भेट भएको थियो, उहाँहरुसँगको साक्षात्कारबाट त्यहाँको कला, संस्कृति र पर्यटनबाट प्रभावित भएकी थिए, सोही समयमा सोलुखुम्बुका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो”, उहाँले भन्नुभयो । 
    
    कार्यक्रमका प्रमुख अतिथि थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले म्युजिक भिडियोमा सोलुखुम्बु झल्किएको उल्लेख गर्दै म्युजिक भिडियो तयार पार्नु हुने गायिका देविका बन्दनाप्रति आभार व्यक्त गर्नुभयो । “गीतमा व्यक्त भएका शब्द मर्मस्पर्शी छन्, समग्र जिल्लाको प्रचारप्रसार हुने गरी पुनः छायाङ्कन गर्ने हो भने हाम्रो गाउँपालिकाले खर्च बेहोर्ने छ, यसबाट जिल्लाको पर्यटन र संस्कृति प्रवर्द्धन हुन्छ भन्ने मलाई विश्वास छ”, उहाँले भन्नुभयो ।
    
    वरिष्ठ कलाकार तथा विशिष्ट अतिथि मदनकृष्ण श्रेष्ठले क्यान्सरजस्तो रोगलाई जितेर फेरि कलाकारितामा सक्रिय हुनुभएकी कलाकार देविका बन्दनाप्रति आभार व्यक्त गर्दै गीतको सफलताको शुभकामना दिनुभयो ।

    उक्त गीतको शब्द देविका बन्दनाले रचना गर्नुभएको हो भने गायनमा देविकालाई सोही गीतका सङ्गीतकार तथा एरेञ्जर किरण कँडेलले साथ दिनुभएको छ । कमल राईको निर्देशन रहेको म्युजिक भिडियोमा सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङले मोडलिङ गर्नुभएको छ । उक्त गीत देविका बन्दना नामक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

    कलाकारहरु सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङ, किरण कँडेललगायतले गीतबारे चर्चा गर्नुभयो । उहाँहरुले गीतमार्फत सोलुको पर्यटन तथा संस्कृतिको प्रचारप्रसारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस अवसरमा गायिका देविका बन्दनाले म्युजिक मिडियो छायाङ्कन भएको कदम्पा गुम्बाका प्रतिनिधिलाई आर्थिक सहयोग उपलब्ध गराउनुभयो । हाल उक्त गुम्बामा करिब सात सय बालबालिका अध्ययनरत छन् ।
    
    गायिका बन्दनाले हालसम्म १०० भन्दाबढी चलचित्रमा गीत गाइसक्नुभएको छ । उहाँका ‘भरे आउँछु सपनीमा...’, ‘यस्तै रहेछ यहाँको चलन...’, ‘तल तल तल तल बेँसीमा मैच्याङ...’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती...’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला...’ लगायतका गीत सयौँ चर्चित गीत छन् ।