काठमाडौँ, २ साउनः आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले को पोलिटब्युरो बैठक आज बस्दैछ ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको सचिवालय बैठकबाट निर्णित विधान संशोधनलगायत प्रस्ताव पेस हुनेछन् ।
विधान महाधिवेशनपूर्व यही साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव प्रस्तुत गरिनेछन् । बिहीबार राति सम्पन्न बैठकमा विधान संशोधनको प्रस्तावमा घनीभूत छलफल भएको थियो ।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ । विधान महाधिवेशनले पार्टीभित्र ७० वर्षे उमेर हद र एकै पदमा लगातार दुई कार्यकाल बस्न नमिल्ने प्रावधान विधिवत् रुपमा हटाउने तयारी गरिएको छ ।
विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गर्नुभएको विधान संशोधनको प्रस्तावलाई एमालेको केन्द्रीय कमिटीले अन्तिम रुप दिनेछ ।