टीकापुर, २० असारः राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार अन्तिम चरणमा पुगेको छ । आयोजना र उपभोक्ताको लागत तथा सहभागितामा शीतभण्डार निर्माण भइरहेको हो ।
रु सात करोड छ लाख ६९ हजार ६०० को लागतमा निर्माण भइरहेको शीतभण्डार एक हजार मेट्रिकटन क्षमताको छ । शीतभण्डार आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानीमा निर्माण भइरहेको हो । अहिलेसम्म ८५ प्रतिशत निर्माण सम्पन्न भएको छ आयोजनाले जानकारी दिएको छ ।
परामर्शदाता इञ्जिनियर मदन धामीले एक हजार मेट्रिकटनको दुई वटा च्याम्बर बनिरहेको बताउनुभयो । यो शीतभण्डार बहुउपयोगी हुने उहाँको भनाइ छ । किनारा निर्माण सेवा धनगढीका निर्माण व्यवसायी सुभास बोहराले शीतभण्डार निर्माणका लागि आवश्यक सामग्री केही स्वदेशमै र केही भारतबाट ल्याइएको बताउनुभयो ।
शीतभण्डार सञ्चालन भएपछि सुरुमा यहाँका आलुखेती गर्ने किसानलाई ठूलो राहत हुने भएको छ भने भविष्यमा फलफूल र तरकारीका लागि पनि प्रयोग गर्ने योजना छ । यहाँ उत्पादन भएको आलु कोहलपुर र महेन्द्रनगरका कोल्डस्टोरमा राख्न बाध्य भएका किसानले टीकापुरमा कोल्डस्टोर निर्माण हुन थालेपछि आलु उत्पादन बढाउन थालेका छन् ।
आयोजनाका प्रमुख भरत कँडेल किसानले उत्पादन गरेको आलु, तरकारी र फलफूलले राम्रो मूल्य पाओस् भनी आयोजनाले शीतभण्डार निर्माणमा सघाएको बताउनुहुन्छ । “किसानलाई धेरै राहत हुनेछ, शीतभण्डारमा दुई वटा च्याम्बर छ”, उहाँले भन्नुभयो, “अहिले आलुका लागि प्रयोग हुनेछ भने भविष्यमा अन्य तरकारी र फलफूल पनि राख्न सकिनेछ ।”
किसानले सस्तो दरमा आफ्नै ठाउँमा भण्डारण गर्न पाउने कँडेलको भनाइ छ । शीतभण्डार सञ्चालन भएमा कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाका किसानले यसबाट लाभ लिन सक्नेछन् । आयोजनाले शीतभण्डार निर्माण सम्पन्नपछि रानी जमरा कुलरिया मूल कुला समितिलाई हस्तान्तरण गर्ने र मूल कुला समितिले सञ्चालन गर्ने योजना बनाइएको छ ।
“मूल कुला समितिले शीतभण्डार व्यवस्थापन समिति गठन गरेर सञ्चालन गर्नेछ”, रानीजमरा कुलरिया मूल कुला समितिका सचिव पर्शुराम महतोले भन्नुभयो, “दिगो रुपमा कसरी सञ्चालन गर्ने भनी छलफल भइरहेको छ । हामीलाई हस्तान्तरण भएपछि किसानका गाउँगाउँमा गएर छलफल गरेर कार्यविधि बनाएर मात्र शीतभण्डार सञ्चालन गर्नेछौँ ।”
महतो आयोजनाले किसानलाई व्यावसायिक बनाउन सघाएको बताउनुभयो । “आयोजनाको सहयोगले पहिलो र दोस्रो चरणमा यस क्षेत्रका किसानलाई उद्यमी बनाएको, उत्पादन वृद्धि भएको, व्यवसाय र बाली विविधीकरणमा किसानको धारणा परिवर्तन भएको छ”, महतोले भन्नुभयो, “सिँचाइका लागि किसानलाई राहत भएको छ । शीतभण्डार बनेपछि आलु खेती गर्ने किसानले फाइदा लिनेछन् ।”
आयोजनाले किसानलाई बिजवृद्धि, धान, गहुँ, मकै, तरकारी, केराखेती प्रवर्द्धन, कृषि यान्त्रिकीकरण, प्रविधिको उपयोग र बाली उत्पादनमा सहयोग गरेको छ ।
आयोजनाले तेस्रो चरणमा कार्यक्षेत्र विस्तार गरेर काम गर्ने भएको छ । यसअघि टीकापुर लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा काम गरिरहेको आयोजनाले तेस्रो चरणमा लम्कीचुहा, भजनी नगरपालिका, बर्दगोरिया, जोशीपुर गाउँपालिकामा सिँचाइ विस्तार, पोखरी सौन्दर्यकरण, कृषि उत्पादन वृद्धिलगायत क्षेत्रमा काम गर्ने भएको छ ।