असार ४, २०८२ बुधबार

पाटन (ललितपुर), ४ असारः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभएको छ ।

    राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

    “वैज्ञानिक अनुसन्धान तथा आविष्कारका क्षेत्रमा नेपालले अन्तरराष्ट्रियस्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिरहेको छैन, अनुसन्धान अनुकूल संरचना र पूर्वाधारको अभाव, सरकारी लगानीको न्यूनता र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने प्रणालीको अभाग रहेकाले ती समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले युवामा रहेका सिर्जनशील योजना, सीप र क्षमतालाई प्रयोग गरी राष्ट्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    “युवाहरू विदेशपलायन हुनुपर्ने अवस्था न्यूनीकरण गर्न देशभित्र भरोसा र अवसर निर्माण गर्नुपर्ने आवश्यकता छ, यस्ता खालका महत्त्वपूर्ण सम्मेलनले युवामा आशा र सम्भावनाको नयाँ आधार खडा गर्नेछ । विज्ञान प्रविधिमा नेपाल अझै पछाडि रहेको अवस्थामा अनुसन्धानका पूर्वाधार, सरकारी तथा निजी लगानी, विश्वविद्यालय र प्रयोगशालाबीच समन्वय, नवप्रवर्तनको व्यवसायीकरण गर्न नीतिगत प्रोत्साहनलगायत पक्षमा सुधार गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष दाहालले अनुसन्धान अनुदान, नवप्रवर्तन कोष, प्राविधिक शिक्षाको सुदृढीकरण तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि स्पष्ट संरचना निर्माण गर्न जोड दिनुभयो । 

    “विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले नीति निर्माण, पूर्वाधार विकास, जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने देखिन्छ, सङ्घीय संसद्ले प्रविधिको विकासमा दृष्टिगत गर्दै विभिन्न विधेयकहरू निर्माण गरिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले विज्ञान प्रविधिसँग सम्बन्धित कानुनहरू युवामैत्री बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    अध्यक्ष दाहालले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, मिडिया काउन्सिललगायत विधेयकहरू सङ्घीय संसद्मा छलफलका क्रममा रहेकाले यथाशीघ्र पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

    विज्ञान प्रविधिको क्षेत्रमा आत्मनिर्भर बन्न नीतिगत स्थायित्व मात्र नभई पूर्वाधार निर्माण, दक्ष जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । “सरकारले नीति तथा कार्यक्रम र बजेटमा विज्ञान प्रविधिको क्षेत्रमा विकास गर्न र लगानी बढाउन केही प्रतिबद्धता जनाएको छ, त्यसलाई कार्यान्वयन गर्ने र बजेटको सही सदुपयोगमा इमान्दारिता कायम गर्ने हो भने सफलता मिल्छ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

    अध्यक्ष दाहालले विज्ञान तथा प्रविधिमा आधारित राष्ट्र निर्माणको सन्दर्भमा युवाको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै युवा वैज्ञानिकहरूलाई सिर्जनशील सोच, प्रयोगशील क्षमता र अनुसन्धानमूलक प्रवृत्तिमा अझ प्रोत्साहित गर्न आग्रह गर्नुभयो ।

    राष्ट्रिय युवा परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), रोबोटिक्स एसोसिएसन नेपाललगायत संस्थाको सहकार्यमा आयोजना गरिएको उक्त सम्मेलनमा युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधिमा नवप्रवर्तन गर्ने युवाको सहभागिता थियो । 

    सम्मेलनमा नवप्रवर्तनशील प्रविधिको प्रदर्शनीका साथै विविध वैज्ञानिक विषयमा विज्ञहरूमार्फत विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।