असार ३, २०८२ मंगलबार

राँझा (बाँके),३ असारः राप्ती सोनारी गाउँपालिका–३ बँैसामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न रु.९० लाखको लागतमा उद्यान निर्माण जारी छ । बैँसामा थारु सांस्कृतिक ग्राम पूर्वाधार निर्माणअन्तर्गत उद्यानको निर्माण  भईरहेको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मीनकुमार थारुले बताउनुभयो । 

    निर्माणाधीन उद्यानमा कोसेली घर, दुई वटा झुला,  ग्रीन बेल्ट, ब्यायाम पार्क धमाधम बनाइँदै छभने र विभिन्न जातका बिरुवा रोपिनेछ । “निर्माण सम्पन्न भएपछि यसले यहाँको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ”, अध्यक्ष पौडेलले भन्नुभयो,“यहाँको आर्थिक स्थिति उकास्नलाई पर्यटनमा लगानी हुँदै आएको छ ।”

    राप्ती सोनारीमा भूवरभवानी, बर्फानी लगायतका पर्यटकीय क्षेत्र हुँदा हुँदै पनि यहाँका बासिन्दा बाहिर गइरहेको अवस्थालाई अन्त्य गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाले सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित बाँधस्थलमा जलविहारलगायत योजना तर्जुमा गरेको अध्यक्ष पौडेलले बताउनुभयो । 

    बैँसा उद्यान सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँध नजिकै रहेकोले पनि यहाँ आन्तरिक पर्यटकको कमी नहुने स्थानीय अगुवा तुलसीराम थारुले बताउनुभयो ।  बैँसा उद्यानलाई भुवरभवानी मन्दिर र बर्फानी बाबा मन्दिरलाई प्रवद्र्धनात्मक कार्यक्रमका गर्न सहज हुने उहाँको बुझाई छ ।