असार ३, २०८२ मंगलबार

गलकोट (बागलुङ), ३ असारः विसं २०७४ अघि बागलुङमा भजन समूह गठन थिएनन् । गाउँमा परम्परागत तरिकाले पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव थियो । लोकभजन र चुट्का लोप हुन थालेपछि यहाँ भजन संरक्षणमा चासो देखाउँदै राष्ट्रिय रूपमा जिल्लाको कला, संस्कृति चिनाउन नयाँ पुस्ता सफल भएका छन् ।

    भजन प्रतियोगिता गर्ने, पुस्तान्तरण गर्न तालिम प्रदान गर्ने तथा धार्मिक संस्थामा भजन समिति गठनले भजन संरक्षणमा टेवा पुर्‍याएको छ । विसं २०७४ देखि गठन थालिएको भजन समिति जिल्लाभर ४७ वटा पुगेका जिल्लास्तरीय लोकभजन चुट्का समितिले जनाएको छ ।

    सुरुमा भजनको संरक्षणका लागि जैमिनी भजन सङ्कीर्तन समूह स्थापना भएको थियो । विसं २०७८ मा जिल्ला भजन समिति गठन भएपछि भजनको गतिविधि बढेको हो । जिल्लामा ४७ वटा भजन समूह स्थापना भएर सक्रिय भइसकेका जिल्ला भजन समितिका अध्यक्ष टेकबहादुर केसीले जानकारी दिनुभयो । 

    जिल्लास्तरीय भजन समिति गठन भएपछि धार्मिक प्रतिष्ठान तथा मठमन्दिरअनुसारका समूह गठन गर्ने, आपसी सहयोग बढाउने, वाद्यवादनका सामग्री खरिद गर्ने, अनुभव आदानप्रदान गर्ने र व्यावसायिक रूपमा भजन गाउने कामको थालनी गरिएको उहाँको भनाइ छ । 

    पछिल्लो समय लोप हुने खतरा बढेपछि लोकभजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमी सङ्गठित भएर लागेका हुन् । लोकभजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमीले सङ्गठन विस्तारदेखि भजन प्रशिक्षण गर्दै पुस्तान्तरणको प्रयास थालेका छन् । 

    “भजनको धेरै विधा र ताल छन्, अहिले औपचारिक मेला महोत्सवमा  भजनकीर्तन गर्ने र भजनको लयमा नाटक देखाउने गरिएको छ”, केसीले भन्नुभयो, “सनातन हिन्दूधर्म, पूर्वीय दर्शनमा आधारित संस्कार र संकृतिका रूपमा रहेको लोकभजन संरक्षणका लागि यहाँका युवा सत्रिलय छन् भने भजन प्रेमीले सहयोग गरिरहेका छन्, अहिले वाद्यवादनका सामग्री सहयोगबाट जुटाइएको छ, भजनलाई संस्थागत गरेपछि पुस्तान्तरणमा सहयोग पुग्नेछ ।”

    विसं २०७६ मा कालिका भगवती गुठीले लोकभजनको संरक्षण तथा पुस्तान्तरणका लागि १५ दिने भजन प्रशिक्षण गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । त्यसयता स्थानीय तहले मादल बजाउने तालिम प्रदान गरिरहेका छन् । 

    उहाँले कालिका मन्दिर भजन समूहले बिहान भजन तथा बेलुका आरती भजन नियमित रूपमा गाउँदै आएको छ भने अन्यत्रको पूजाआजामा भजन गाउनका लागि समूहलाई खटाउँदै आएको खड्काले जानकारी दिनुभयो । 

    विभिन्न मठमन्दिर, चौरासी पूजा र व्रतबन्धमा भजन गाउन समूह सक्रिय रूपमा लाग्ने गरेका छन् । भजन संरक्षण, प्रशिक्षण तथा प्रवर्द्धन सहयोग पुग्न थालेको छ । धार्मिक पर्यटकलाई लोकभजन चुट्काप्रति पछिल्लो समय आकर्षण बढिरहेको छ । प्रतिष्ठानको अगुवाइमा रु पाँच लाख बराबरको ध्वनियन्त्र र वाद्यवाधनका सामग्री सङ्कलन गरिएको अगुवा भजनकर्ता दुर्गाबहादुर आचार्यले जानकारी दिनुभयो ।