असार २, २०८२ सोमबार

म्याग्दी (बेनी), २ असार : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो ।  

लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताउनुभयो । “घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ, मुहानदेखि ट्याङ्की हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ, घरघरमा खानेपनीको सुविधालाई स्थानीयवासीलाई सहज भएको छ”, अध्यक्ष रञ्तिजाले भन्नुभयो । 

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो । गत चैत २९ गतेदेखि निर्माण सुरू भएको यस आयोजना दुई महिनामै निर्माण सम्पन्न भएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार, खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको  रु ५० लाख ५४ हजार तीन सय चार र स्थानीयवासीको १० लाख ९२ हजार आठ सय बराबरको श्रमदान गरी कूल रु ६१ लाख ४७ हजार एक सय चार लगानी भएको छ । आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बरलगायत पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइनमार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरू गरेको छ ।

आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ । नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्णरूपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इञ्जिनियर उक्तमलाल श्रेष्ठले जानकारी दिनुभयो । 

“हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यता अनुरूप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छाँै”, उहाँले भन्नुभयो । यस आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्याङ्कीहरूमा बाहिरबाट कुनै पनि फोहरभित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ । 

आयोजना निर्माण सुरू भएको दुई महिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । गाउँको शिरानमा रहेको पानीखाना मूलबाट पानी ल्याएर १० हजार र छ हजार लिटरका दुई वटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमूना जिरेलले जानकारी दिनुभयो । 

यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्याङ्कीहरूको संरक्षण गरिएको छ । योजनाका दीगोपानका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ ।