पेरिस, १ असार : भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ अनर (देशको सर्वोच्च उपाधि) खोसिएको छ ।
सन् २०१२ को राष्ट्रपति चुनावमा एक पाँच वर्षको कार्यकाल पूरा गरेपछि पराजित भएदेखि उहाँ कानूनी समस्याहरूले घेरिनुभएको छ ।
सत्तरी वर्षीय सार्कोजीले गत महिनासम्म इलेक्ट्रोनिक एङ्कल ट्याग लगाउनुभएको थियो । फ्रान्सको सर्वोच्च पुनरावेदन अदालतले गत डिसेम्बरमा न्यायाधीशबाट अवैध रूपमा अनुग्रह प्राप्त गर्ने प्रयास गरेकामा उहाँको सजायलाई सदर गरेको थियो ।
लिजन अफ अनरको संहिताअनुसार फ्रान्सको शीर्ष राज्य पुरस्कार एक वर्ष वा सोभन्दा बढी कैदको सजाय पाएको व्यक्तिलाई यो आदेशबाट बाहिर राखिएको छ ।
तर फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अप्रिलमा यस्तो कदमको विरुद्धमा तर्क गर्दै घोटालाले ग्रस्त सार्कोजी निर्वाचित भएको र ‘पूर्व राष्ट्रपतिहरूलाई सम्मान गर्नु धेरै महत्त्वपूर्ण’ भएको बताउनुभएको थियो ।
कानूनी समस्याहरूका बावजुद सार्कोजी दक्षिणपन्थमा प्रभावशाली व्यक्तित्व बन्नुभएको छ र राष्ट्राध्यक्षसँग नियमित रूपमा सामाजिक रूपमा परिचित हुनुहुन्छ ।
नाजी सहयोगी फिलिप पेटाइनपछि सार्कोजी यो पुरस्कारबाट वञ्चित हुने दोस्रो पूर्व राष्ट्रप्रमुख बन्नुभएको छ । पेटाइनलाई सन् १९४५ अगस्टमा राजद्रोह र शत्रुसँग षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
यो सम्मानबाट वञ्चित हुनेहरूमा सिरियाका पूर्वराष्ट्रपति बशर अल–असद, डोपिङ घोटालामा फसेका साइकल खेलाडी लान्स आर्मस्ट्रङ र चलचित्र व्यवसायी हार्वे वाइन्स्टाइन पनि हुनुहुन्छ । वाइन्स्टाइनको महिलाहरूसँगको व्यवहारले यौन हिंसाविरुद्धको मि टु आन्दोलनको सुरुआत गरेको थियो ।
इलेक्ट्रोनिक ट्याग यस महिना हटाइएका सार्कोजीले दोषसिद्धिविरुद्ध आफ्नो बचाउमा युरोपेली मानवअधिकार अदालतमा (इसिएचआर) पुनरावेदनको आफ्नो अन्तिम बाँकी कानूनी विकल्प प्रयोग गरिरहनुभएको छ ।
सार्कोजीका वकिल प्याट्रिस स्पिनोसीले पूर्वराष्ट्रपतिले लिजन अफ अनरबाट वञ्चित गर्ने निर्णयलाई ‘स्वीकार गर्नुभएको’ तर इसिएचआरमा दायर गरिएको निवेदन ‘अझै विचाराधीन’ बताउनुभयो ।
“फ्रान्स विरुद्धको कुनै पनि इसिएचआरको फैसलाले (सार्कोजी) विरुद्धको आपराधिक सजायको समीक्षा गर्ने साथै लिजन अफ अनरको आदेशबाट उहाँको बहिष्करणको पुनरावलोकन गर्न आवश्यक हुनेछ”, स्पिनोसीले भन्नुभयो ।
सार्कोजीले हाल लिबियाका दिवङ्गत तानाशाह मोआमर गद्दाफीसँगको कथित सम्झौतामा अवैध अभियान वित्तपोषण स्वीकार गरेको आरोपमा छुट्टै मुद्दाको सामना गरिरहनुभएको छ ।
अदालतले सेप्टेम्बरमा फैसला सुनाउने छ जहाँ अभियोजकहरूले सार्कोजीका लागि सात वर्षको जेल सजायको माग गरेका छन् । सार्कोजीले आरोपलाई अस्वीकार गर्नुभएको छ ।