हनोई, १ असार: मध्य भियतनाममा आएको आँधीबेहरी र वर्षाले पाँच जनाको मृत्यु र दुई अन्यलाई बेपत्ता बनाएको आधिकारिक तथ्याङ्कले जनाएको छ । आँधीका कारण त्यहाँ मुसलधारे वर्षाले विशाल कृषि क्षेत्र डुबानमा परेको छ ।
शनिबार टाइफुन वुटिप एक सय २८ किलोमिटर (८० माइल) प्रतिघण्टासम्मको हावाको गतिका साथ दक्षिणी चीनमा पुगेको थियो र भियतनामको छेउमा रहेको टोन्किन खाडीमा फैलिएपछि उष्णकटिबन्धीय आँधीमा परिणत भएको थियो ।
भियतनामको कृषि मन्त्रालयले शनिबार साँझ मध्य क्वाङ त्री प्रान्तमा तीन जनाको मृत्यु भएको र क्वाङ बिन्ह प्रान्तमा दुई अन्यको मृत्यु र दुई जना बेपत्ता भएको बताएको छ ।
सत्तरी हजार हेक्टरभन्दा बढी (एक लाख ७२ हजार एकड) बालीनाली डुबानमा परेको मन्त्रालयले जनाएको छ ।
चिनियाँ अधिकारीहरूले दक्षिणी हाइनान टापुमा हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका थिए भने स्कूलहरू बन्द गरेका थिए र आँधी आउनुअघि शुक्रबार रेल सेवा रोकेका थिए ।
यद्यपि संयुक्त टाइफुन चेतावनी केन्द्रले शनिबार आँधी ‘सप्ताहन्तको अन्त्यमा कमजोर भएर विलीन हुने’ पूर्वानुमान गरेको छ ।
जलवायु परिवर्तनको परिणामस्वरूप प्राकृतिक प्रकोपहरू बढी गम्भीर र बारम्बार हुँदै गएका छन् । कृषि मन्त्रालयका अनुसार गत वर्ष भियतनाममा यसले पाँच सय १४ जनाको ज्यान लिएको थियो । यो सन् २०२३ को तुलनामा तीन गुणा बढी हो ।
गत सेप्टेम्बरमा उत्तरी भियतनाममा आएको टाइफुन यागीले तीन सय ४५ जनाको ज्यान लिएको थियो भने तीन अर्ब ३० करोड डलरको आर्थिक क्षति भएको थियो ।