काठमाडौँ, १ असारः स्थानीय सरकारको अभिन्न अङ्गका रुपमा रहेको जिल्ला समन्वय समिति (जिसस)लाई समन्वय र अनुगमनका लागि सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति, काठमाडौँद्वारा यहाँ आयोजित विचारविमर्श एवं सम्मान कार्यक्रममा उपप्रधानमन्त्री, पूर्वमन्त्री, सांसद, स्थानीय तहका पदाधिकारी र पार्टी नेताहरूले आवश्यक परे संविधानमा नै संशोधन गरी जिससलाई स्रोतसाधनसहित अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले नेपालको संविधानमा नै स्थानीय तहको अधिकार स्पष्ट रुपमा व्यवस्था गरेको तर जिल्लामा तिनलाई अनुगमन र समन्वय गर्ने भूमिकामा रहको जिसस कमजोर अवस्थामा रहेकाले कानुनी व्यवस्थासहित समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले परिवर्तित सन्दर्भमा जिससको महत्व अझै बढेको चर्चा गर्दै विद्यमान अधिकारलाई सुरक्षित गरी स्रोतसाधनसहित थप अधिकारका पक्षमा सम्बद्ध सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कृषि आधुनिकीकरणका नाममा जथाभावी रुपमा रासायनिक मल तथा विषादी प्रयोग गर्नेक्रम बढ्दा माटोको उर्वरा शक्ति र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव परेको सन्दर्भ उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले वैदिक खेती प्रणालीलाई पुनःस्थापित गर्ने स्थानीय तहका सरकारको ध्यान जानुपर्ने खाँचो औँल्याउनुभयो ।
नेपाली कांग्रेसका नेता एवं सांसद राजेन्द्रकुमार केसीले अधिकार भए पनि स्रोतसाधनविहीन निकायका रुपमा क्रियाशील रहेको जिससलाई सशक्त एवं प्रभावकारी बनाउन सबै राजनीतिक पार्टी एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
कांग्रेस नेता ध्यानगोविन्द रञ्जितले समन्वय र अनुगमनका लागि जिससलाई सुदृढ बनाउने गरी संविधान संशोधनको तयारी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले मुलुकका तीनै तहका सरकारको नेतृत्व गर्ने राजनीतिक दलका नेता, कार्यकर्तालाई आध्यात्मसँग जोड्न सकिए देशमा सुशासन कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, जिसस काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी र उपप्रमुख शान्ति पाण्डे, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीलगायतले स्रोतसाधनविहीन जिससको भूमिका प्रष्ट गरी यसलाई अझ सशक्त र प्रभावकारी बनाउनेतर्फ राज्यका ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा पूर्वमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वैदिक खेतीप्रणालीका बारेमा जानकारी दिँदै विषादीयुक्त भोजनका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनुभयो ।