जेठ ३०, २०८२ शुक्रबार

    ढाका, ३० जेठ: बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले शुक्रबार लण्डनमा दक्षिण एसियाली राष्ट्रको प्रमुख पार्टीका नेतासँग भेटवार्ता गर्नुभएको छ ।     
     
भेटमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानसहितका नेतासँग नेता युनुसले छलफल गर्नुभएको हो ।     
     
सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरी १५ वर्ष लामो शासनको अन्त्य गरेपछि करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेश सङ्क्रमण अन्त्य गर्न निर्वाचनको तयारी गरेको हो ।     
     
पछिल्लो समय कामचलाउ सरकार र बीएनपीबीचको सम्बन्ध चिसिएको भए पनि सरकारी प्रेस टोलीले सार्वजनिक गरेको तस्बिरमा युनुस र रहमान लण्डनमा भएको भेटमा मुस्कुराइरहेका र हात मिलाउँदै गरेको देखिएको छ ।     
     
युनुसको सरकारले गत महिना राजनीतिक शक्ति सङ्घर्षले हासिल गरेका उपलब्धिलाई खतरामा पार्ने चेतावनी दिँदै सन् २०२६ को मध्यसम्ममा निर्वाचन सम्पन्न गर्दा लोकतान्त्रिक संस्थाहरूमा आमूल परिवर्तन गर्न समय मिल्ने बताएको थियो ।     
     
हसिनाको शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको थियो र उहाँको सरकारमाथि अदालत र निजामती सेवालाई राजनीतिकरण गरेको र एकतर्फी निर्वाचन गरेको आरोप लगाइएको थियो।     
     
बिएनपीलगायत राजनीतिक दलहरूको दबाबमा युनुसले यसै महिना आगामी बर्षको अप्रिलमा चुनाव हुने घोषणा गर्नुुभएको थियो ।     
यद्यपि, बिएनपीले निर्वाचन पहिले सार्न दबाब दिइरहेको छ।     
     
बिएनपीले इस्लामधर्मावलम्बीको पवित्र महिना रमजान १७ फेब्रुअरीमा सुरु हुनुअगावै चुनाव गराउन चाहेको बताएको छ ।     
     
युनुसको मन्त्रीमण्डलका वरिष्ठ सदस्य खलीलुर रहमानले सुधार र परीक्षणमा उल्लेखनीय प्रगति भएको खण्डमा पहिले नै चुनाव हुने सम्भावना रहेको बताउनुभयो ।     
     
बीएनपीका प्रमुख नेता अमिर खासरु महमुद चौधरीले भन्नुभयो, “हामी आशा गर्छौं कि हामी चाँडै सुधारमा सहमतिमा पुग्न सक्छौँ।”     
     
नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय युनुसले हसिना हेलिकप्टर लिई भारततर्फ भागेपछि विद्यार्थी आन्दोलनकारीको बलमा आफूले निर्वाह गरेको कार्यवाहक भूमिकालाई लामो समय निरन्तरता नदिने बताउनु भएको छ ।