जेठ २९, २०८२ बिहिबार

टक्सार (भोजपुर), २९ जेठः भोजपुर नगरपालिका–१ हेलौछाको वडा कार्यालय भवन निर्माणका लागि स्थानीयले तीन रोपनी जग्गा प्रदान गर्नुभएको छ । बाबुआमाको नाममा स्थानीय वीरबहादुर तामाङले वडा कार्यालयका लागि जग्गा प्रदान गर्नुभएको हो । 

    वडा कार्यालयको काम अहिले भाडाको घरबाट सञ्चालनमा रहँदै आएको छ । वडा कार्यालयको काममा सहजता होस् भन्ने उद्देश्यका साथ तामाङले जग्गा उपलब्ध गराउनुभएको पूर्ववडाध्यक्ष विष्णुकुमार भुजेलले बताउनुभयो । भुजेलका अनुसार वीरबहादुरले बाबु धनमान तामाङ र आमा राममाया तामाङको नाममा करिब रु १५ लाख बराबरको जग्गा वडा कार्यालयलाई प्रदान गर्नुभएको हो । 

    जग्गा प्राप्तिसँगै भवन निर्माणको काम अघि बढाइने वडा कार्यालयले जनाएको छ । आफ्नै भवन नहुँदा वडा कार्यालय हाल भाडाको कोठाबाट सञ्चालित छ । जग्गा दाताले दिएको जग्गामा बजेटको व्यवस्थापन गरी भवन बनाउने तयारी वडाले गरेको छ ।