जेठ १३, २०८२ मंगलबार

डुम्रे (तनहुँ), १३ जेठः तनहुँका चार नगरपालिका र छ गाउँपालिकाले संयुक्त रुपमा न्याय सम्पादनलाई अझ व्यवस्थित गर्न एकीकृत निर्देशिका जारी गर्ने भएका छन् ।  भानु नगरपालिका न्यायिक समितिद्वारा आयोजित दोस्रो न्यायिक जिल्ला सम्मेलनले निर्देशिका जारी गर्ने निर्णय गरेको हो  । सम्मेलनमा जिल्लाका सबै पालिकाका न्यायिक समितिको सहभागीता रहेको थियो । 

निर्देशिका निर्माणले सबै पालिकामा न्याय निरुपणमा एकरुपता कायम गर्न मद्दत पुग्ने भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुुभयो । उहाँले भन्नुभयो, “अदालतसम्म पुग्नुपर्ने समस्याको न्यूनीकरण तथा अन्त्यमा सहजता कायम भएको छ । जिल्लाका सबै पालिकाको न्याय निरुपणमा एकरुपता भए अझ उत्कृष्ट हुने भएकाले निर्देशिका निर्माण आवश्यक छ । ” 
उपप्रमुख उमा गोतामेले जिल्लाको न्याय निरुपणमा एकरुपता ल्याउने उद्देश्यले एकीकृत निर्देशिका जारी गर्ने सम्मेलनमार्फत निर्णय गरिएको र यसले सहज बनाउने अपेक्षा गरिएकोे जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहको न्यायिक अधिकार र यसको प्रयोगमा एकरुपता ल्याउनुका साथै सचेत बनाउने छ । यस्तै स्थानीय तहको न्यायिक समितिको काम, कर्तव्य र अधिकारका बारेमा चेतना जगाई जिल्ला अदालतमा जाने मुद्दाको चापलाई घटाउने लक्ष्य लिएको छ । उहाँले भन्नुभयो, “चेतनाबिना नै अदालतसम्म पुगेर कामकारबाहीमा जान नसक्ने सेवाग्राही अझ सहज बनाउने लक्ष्य लिएका छौँ, यसलाई निर्देशिकाले टेवा पुग्ने छ । ” 

न्याय सम्पादन प्रक्रियामा एकरुपता ल्याउन जिल्लाभर न्यायिक सचेतना कार्यक्रममा सञ्चालन गरिने जनाइएको छ । जिल्लाका १० वटै स्थानीय तहका न्यायिक समितिको समय–समयमा सम्मेलन गरी एकापसमा भएका असल अभ्यासको आदानप्रदान गर्ने योजना निर्धारण गरिएको छ । 

स्थानीय तहमा रहेका मेलमिलापकर्ताको भूमिका थप गरी सक्रियता बढाउने जिल्ला सम्मेलनबाट निर्णय भएको छ । जिल्लाका सबै पालिकाका न्यायिक समिति संयोजक, न्यायिक समिति सदस्य तथा मेलमिलापकर्ताको सहभागिता रहेको भानु नगरपालिका न्यायिक समिति सदस्य अजय थापाले जानकारी दिनुभयो ।  
–––