कास्की, १३ जेठः अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष हीरक महोत्सव मनाइने भएको छ । अन्नपूर्ण (नर्थ)को आधार शिविरमा पहिलोपटक कार्यक्रम गर्न लागिएको हो ।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी थिए । नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हीरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हीरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो । “हामीले पहिलोपटक आरोहण भएको सम्बन्धित स्थानमा पुगेर कार्यक्रम गर्दैछौँ । यसबाट नेपालको पर्वतीय पर्यटनको थप प्रवर्द्धन हुनेछ”, उहाँले भन्नुभयो ।
महोत्सवमा फ्रान्सलगायत युरोप–अमेरिकालगायत देशका १२ राजदूतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले जानकारी दिनुभयो । नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गतेसम्म पदयात्रा गरिने छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उहाँका परिवारसहित १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौडसमेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ ।
आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिस हर्जोग पदमार्ग’ नामकराण गरिएको छ । उक्त पदमार्गका साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।