जेठ १२, २०८२ आइतबार

काठमाडौँ, ११ जेठः राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालको पर्वतीय सम्पदाको महत्वलाई नेपाली जनजनमा पु¥याइनुपर्ने बताउनुभएको छ ।

    गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षक तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष झाले देवभूमिसमेत रहेको हिमालयको संरक्षण र प्रवर्द्धनसँगै यसको महत्वलाई हरेक नेपालीको घरघरमा पुर्याइनुपर्ने बताउनुभयो । उहाँले नेपालको अमूल्य निधि र सम्पदाको रुपमा रहेका राससद्वारा प्रदर्शित तस्बिरलाई राष्ट्रिय र अन्तरराष्ट्रिकरण गरिनुपर्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, “नेपालको अमूल्य निधिका रुपमा रहेका हाम्रा हिमालका बारेमा आमनेपालीलाई जानकारी गराउनुपर्दछ । प्रत्येक नेपालीले गौरव गर्न सक्ने वातावरण तयार गर्न सरकारको ध्यान जानुपर्दछ । मधेस, पहाड र हिमालका सबै नेपालीले हाम्रा हिमालका बारेमा स्पष्ट जानकारी पाउनुपर्दछ, त्यस्तो वातावरण सृजना भए मात्र गणतन्त्रको सार्थकता झल्कने छ ।”
 
    अध्यक्ष झाले “हाम्रा हिमाल, पर्वत जीवन हुन् । राष्ट्रका निधि हुन् । हामीले यिनको संरक्षण कति गर्न सक्छौँ, हाम्रो दीर्घायु र समृद्धि त्यसैमा भरपर्छ”, उहाँले भन्नुभयो, “आध्यात्मिक साहित्यले पर्वतलाई महत्त्वपूर्ण सम्पदाको रुपमा चित्रण गरेको छ । देवताहरुको बास भएको सुन्दर र अनुपम भूमिसँग जोडिएका पर्वतीय सम्पदा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न जरुरी छ ।” 
 
    उहाँले फोटो प्रदर्शनीमार्फत राससले गरेको सृजनात्मक पहललाई सरकारले सम्पत्तिको रुपमा ग्रहण गरेर यसको महत्व र गरिमाको प्रवर्द्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

राससले फोटो प्रदर्शनीमार्फत सरकारले लिएको नीति र दृष्टिकोणलाई पालना गर्ने र यसको प्रभावकारिताका लागि पहलकदमी गर्दै आएको उहाँको भनाइ थियो ।

राससका महाप्रबन्धक सिद्धराज राईले हालै काठमाडौँमा सम्पन्न अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’ जोडेर नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्याउने र जलवायु परिवर्तनको मुद्दालाई उजागर गर्न सघाउ पुर्याउन उद्देश्यले  गणतन्त्र दिवसकोे सन्दर्भमा ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकमा तस्बिर प्रदर्शनी गरिएको बताउनुभयो । 

उहाँले हिमाललाई ब्रान्डिङ गर्ने र वातावरणमैत्री पूर्वाधार निर्माणका पक्षमा सरोकार भएका सबैका बीच आवश्यक समन्वयसहित सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पर्वतीय पर्यटनमा आधारित तस्बिर प्रदर्शनीले जलवायु परिवर्तनको चपेटामा परेको नेपालका हिमाल र यसको संरक्षण प्रवर्द्धनमा सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो ।
 
    यही जेठ ३० गतेसम्म चल्ने रासस तस्बिर प्रदर्शनीमा नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमाल, चर्चामा नआएका केही महत्त्वपूर्ण हिमाल, विभिन्न हिमशृङ्खला, महत्त्वपूर्ण पर्यटकीयस्थललगायतलाई समेटेर १०० तस्बिर राखिएको छ ।
 
    राससकर्मी रोशा बस्नेत सम्मानित
 
    सोही समारोहमा राससको अङ्ग्रेजी शाखाका सम्पादका एवं सगरमाथा आरोही रोशा बस्नेत सम्मानित हुनुभएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खादा ओडाएर सम्मान गर्नुभयो । बस्नेतले सन् २०१८ को वसन्त ऋतुमा ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण दल’मा आबद्ध भई सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।