बैशाख ३०, २०८२ मंगलबार

काठमाडौँ, ३० वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नयाँ युगलाई सम्बोधन गर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० र १३ मा निर्माण हुने ‘सिनेपाः’ नामक चलचित्र छायाङ्कन स्टुडियोको निर्माणको शिलान्यास गर्ने  कार्यक्रममा मन्त्री गुरुङले नयाँ बन्ने ‘चलचित्र ऐन’ ले अहिले चलचित्र क्षेत्रमा देखिएका र सुनिएका समास्यालाई न्यूनीकरण गर्ने बताउनुभयो । 


“चलचित्रकर्मीको शैली र सोचमा परिवर्तन आइसकेको छ, यद्यपि हामी विसं २०२६ कै कानुनअनुसार चलचित्र क्षेत्रलाई अगाडि बढाइरहेका छौँ, त्यो छिट्टै परिवर्तन भएर समयानुकूल कानुन आउनेछ । हामीले चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्न यो सुरूआत गरेका हौँ, अगाडि धेरै काम गर्न बाँकी छ । तर, हामीले सुरू गरेका कामले विस्तारै नतिजा दिनेनै छ”, उहाँले भन्नुभयो । 

मन्त्री गुरुङले विसं २०२६ को चलचित्र ऐनलाई प्रतिस्थापन गर्नेगरी ल्याउन लागिएको उक्त विधेयकको मस्यौदा ‘चलचित्र ऐन’ बनेर आइसकेपछि पनि संशोधन गर्नुपर्ने विषयमा छलफल गर्न सकिने बताउनुभयो । 

विसं २०२२ देखि नै नेपालमा चलचित्र निर्माणको क्रम सुरू भए पनि ६ दशकपछि स्टुडियो बनाउन ढिलाइ भए पनि आगामी दिनमा त्यस कार्यलाई अझ प्रभावकारी एवं द्रुतगतिमा अगाडि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विगत ६० वर्षदेखिको माग र आशा बल्ल पूरा हुँदैछन् । गफ गर्नेभन्दा पनि रफ्तारमा काम अगाडि बढायौँ भने गन्तव्यमा छिट्टै पुग्छौँ । मैले नेतृत्व गरिरहेको मन्त्रालय अन्तर्गतका सञ्चारसँग जोडिएका संस्थामा कानुन संशोधनको आवश्यकता छ । पञ्चायतीकालको कानुनमा चलेर हामीले अहिलेको समयमा योजना अनुरूपको सफलता हासिल गर्न सक्दैनौँ । त्यसकारण हामीले सार्वजनिक सेवा प्रसारण नेपालपश्चात चलचित्र ऐनलाई ल्याउन प्रक्रिया अगाडि बढाएका हौँ”, मन्त्री गुरुङले भन्नुभयो । 

उहाँले चलचित्र क्षेत्रमा देखिएका समस्यालाई एकपछि अर्को गर्दै समाधान गर्ने जनाउँदै ‘चलचित्र ऐन’ सँगै ‘मिडिया काउन्सिल विधेयक’, ‘सामाजिक सञ्जाल विधेयक’ संसद्मा पुगेको र पञ्चायती कानुनमा चलेका कानुनलाई समयसापेक्ष सुधार गर्न लागिएको बताउनुभयो । 

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो । कुल ४२ रोपनी क्षेत्रफलमा बन्ने उक्त अत्याधुनिक स्टुडियोको कूल लागत रु ३७ करोड अनुमान गरिएको छ ।