तानसेन (पाल्पा), २५ वैशाखः जिल्लाको माथगढी गाउँपालिका–५ मा रहेको ऐतिहासिक माथागढी उद्यान पार्क निर्माण गरी माथागढी गाउँ सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना मध्यपश्चिम हेक्डक्वाटर बुटवलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उद्यानको पृतनापति उपरथि प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीलाई हस्तान्तरण गर्नुभएको हो ।
करिब रु आठ लाखमा नेपाली सेनाले पार्क निर्माण गरेको हो । यो गढी तत्कालीन भूरे राजाले निर्माण गरेका थिए । भूरे राजाको विस्तृत इतिहास थाहा नभए पनि स्थानीय बुद्धिजीवीका अनुसार पाल्पाका सेन राजामध्येका राजाले यस स्थानमा गढी बनाइ बसेको र पछि राजाले यस स्थान छाडेर गएको भन्ने भनाइ छ । एक्कासी राजाले यस स्थान छाडेर गएपछि राजा उडेर गए भन्ने किंवदन्ती रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।
नेपाल अंग्रेज युद्धको दौरानमा यहाँको गढीलाई बलियो बनाई तत्कालीन कर्णेल उजीरसिंह थापाले दक्षिण पूर्वीभागबाट हुनसक्ने सम्भावित अंग्रेज फौजको हमलाको विरुद्ध रक्षात्मक लडाई लड्न तीन सय जनाको टुकडी यस गढीमा तैनाथ गरेका भन्ने जानकार बताउँछन् ।
“दक्षिण जीतगढीतर्फको असफलतापछि पाल्पा आक्रमणका क्रममा अंग्रेज फौजले दक्षिण पूर्वीदिशाबाट हमलाका लागि अंग्रेज फौज आइरहेको हल्लापछि कर्णेल उजीरसिंहले यस किल्लालाई मजबुद बनाउँदै फौज तैनाथ गरेका थिए । अंग्रेज फौजलाई बाटो देखाउने तत्कालीन पाल्पा राज्यका सल्लाहकार कनकनिधि तिवारी नदीमा बिहानको स्नान गर्न गएका बेला मारिएपछि अंग्रेज फौजले बाटो पत्ता लगाउन नसकी यस गढीमाथि हमला गर्न सकेनन् । साथै जीतगढी र नुवाकोट गढीमा अंग्रेज फौजलाई रोक्न नसकेको अवस्थामा यस गढीमा आई लड्ने वैकल्पिक योजनासहित किल्लाका रूपमा गढीको स्थापना भएको हो इतिहास छ”, अध्यक्ष चिदीले भन्नुभयो ।
उहाँका अनुसार यहाँ ठूलो कडावाला तमौरामा तत्कालीन युद्धमा प्रयोग गरिने धनुष, काँडा र तरवारजस्ता युद्ध सामग्री देख्न पाइन्छ । नजिकैको झुम्सा खोलाको ढुङ्गाको प्रयोग गरी गढीको निर्माण गरिएको भन्दै उहाँले गढी वरिपरि करिब चार वटा ट्रेन्च (गाली) र क्रोलिङ ट्रेन्च (घिस्रिने नाली) रहेका बताउनुभयो । नेपाल अंग्रेज युद्धपछि पनि विसं २००७ मा नेपाली फौज उक्त गढीमा बसेको थियो ।
सांस्कृतिक रूपमा पनि यस गढीको छुट्टै महत्त्व रहेको छ । किंवदन्ती अनुसार स्थानीयको सपनामा आएर शक्ति स्वरुपिणी कालीले आफूले यस स्थानमा बस्ने इच्छा गरेकी थिइन् । यदि साच्चिकै शक्ति हौँ, भने यस स्थानमा रहेको ठूलो चिलाउनेको रुखलाई सोही राति चट्याङले तहसनहस गरी प्रमाणित गर्न र आफूले मन्दिर स्थापना गर्ने भाकल गरेपश्चात् सोही राति चट्याङ लागि रुख तहसनहस भएपछि यस स्थानमा माथागढी कालिका देवीको मन्दिर स्थापना गरिएको जनविश्वास रहिआएको छ । हालसम्म पनि यस स्थानमा देवीको शक्ति पूजा हुने गर्छ ।
यहाँ सेनाले अहिले पार्क निर्माण गरी संरक्षण गर्न भन्दै स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । उक्त गढीको पार्क हस्तान्तरण गर्दै पृतनापति पुनले ऐतिहासिक स्थल र सम्पदाको संरक्षणको लागि नेपाली सेनाले सहयोग पु¥याउँदै आएको बताउनुुभयो । उहाँले स्थानीय नागरिक र नेपाली सेनाको सम्बन्ध सुमधुर बनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष चिदीले इतिहासलाई जीवन्त राख्न यस्ता सम्पदाको प्रचारप्रसार र संरक्षण, प्रवर्द्धन गर्न आवश्यक रहेको बताउँदै पालिकाले ऐतिहासिक स्थलको संरक्षणमा सहयोग गर्ने उल्लेख गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले आमनागरिकलाई पुराना सम्पदाको महत्त्व बुझाउँदै भावीपुस्तामा हस्तान्त्रण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
दि फेमस महेन्द्र दल गणका गणपति भूपेन्द्र गुरुङले जिल्लामा रहेका मठमिन्दरको संरक्षण र संवर्द्धनमा नेपाली सेनाले सघाउँदै आएको बताउनुुभयो । उहाँका अनुसार नेपाल अंग्रेज युद्धका साथै नेपाल एकीकरणका बेला प्रयोग भएको गढी किल्लाको संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले सौन्दर्यकरण गरिएको छ ।
सेनाले यहाँका ऐतिहासिक कोट, गढी, किल्लाको संरक्षण गर्ने र इतिहास जोगाउने काम गर्दै आएको छ । सेनाले यसअघि छ दिने पदयात्रामा निस्किएर यहाँका गडीको अवलोकन, निरीक्षण गरेको थियो । यहाँ ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा जीतगढी किल्ला रहेका छन् ।