बैशाख २५, २०८२ बिहिबार

काठमाडौँ, २५ वैशाखः प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको  आरोप लगाउँदै छानविन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो,“ आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको  छ । यसबारेमा छानबिन गर्नुपर्छ ।”

उहाँले सो  जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै  नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न  माग गर्नुभयो ।

बैठकमा सांसद विमला सुवेदीले आज कोटेश्वर तिनकुने क्षेत्रमा सार्वजानिक यातायातले ठक्कर दिँदा एक जनाको ज्यान गरेको र तीन जना घाइते भएको जनाउँदै मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई सहज स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गर्नुभयो । 

सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने नीति लिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि उहाँको भनाइ छ । सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नागरिकलाई दुःख दिन नहुने  बताउनुभयो ।  उहाँले रासायनिक मल अभाव हुन नदिनेतर्फ ध्यान दिन सरकारसँग माग गर्नुभयो ।