काठमाडौँ, २४ वैशाखः आज वैशाख २४ गतेअर्थात् राष्ट्रिय पत्रकारिता दिवस । नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशनमा आएको सम्झनामा मनाइने यो दिवस समस्त नेपाली पत्रकारका लागि गौरवको दिन पनि हो । आजभन्दा १२५ वर्ष अघि १९५८ वैशाख २४ गतेदेखि प्रकाशनमा आएको यस पत्रिकाले एक प्रकाशनको सुरुआत मात्र नभई, अटुटरुपमा विचार अभिव्यक्तिको स्वतन्त्रताको प्रतीकको रुपमा आफ्नो पहिचान राख्न सफल भएको छ ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । यो दिन मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको मात्र वार्षिकोत्सव नभएर समस्त नेपाली पत्रकारिताको जग राखिएको दिनको रुपमा लिने गरिन्छ । सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गर्ने भएकाले यस दिवसलाई राज्यले पनि आत्मसात् गरेको छ । यस वर्षको पत्रकारिता दिवसको नारा ‘विश्वसनीय सूचनाको आधारः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ ले पनि लोकतन्त्रमा जनतालाई सुसूचित गराउन महत्वपूर्ण अगुवाइ गर्ने पत्रकारिता क्षेत्र र यसमा संलग्न पत्रकारहरुको पेसागत सुरक्षालाई महत्व दिइएको छ ।
पत्रकारिता कुनै पनि लोकतान्त्रिक समाजको आधारशिला हो । जनताको आवाजलाई सरकारसमक्ष पु¥याउने, समाजका विकृति र विसङ्गतिहरूलाई उजागर गर्ने र नागरिकलाई सूचित गर्ने कार्य पत्रकारिताले गर्छ । यसकारण पत्रकारिता केवल समाचारको माध्यम मात्र नभई यो परिवर्तनको शक्ति पनि हो । पत्रकारिताको अभावमा नागरिकले सूचना पाउने प्रणाली नै खत्तम हुनपुग्छ र एउटा अकल्पनीय अन्धकारमा समाज धकेलिन्छ । सूचनाको निर्वाध सम्प्रेषणबाट मात्रै प्रेस स्वतन्त्रता हुनसक्छ । लोकतान्त्रिक मुलुकमा सधँै प्रेसले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग र रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले लोकतन्त्रको अभिन्न अङ्ग स्वतन्त्र प्रेस नै हो, लोकतन्त्रको अक्सिजन पनि हो । प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अङ्ग पनि हो । नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरी विश्व मञ्चमा लोकतान्त्रिक राज्यको बलियो उदाहरण दिएको छ ।
पत्रकारिताको शक्तिलाई विश्वव्यापीरुपमै धेरै वर्षअघिदेखि महसुस गर्दै यसको सही उपयोगमा जोड दिँदै आएको पाइन्छ । भारतका अर्थशास्त्री अमत्र्य सेनले ‘जहाँ प्रेस स्वतन्त्रता रहन्छ, त्यहाँ कुनै पनि मानिस भोकै मर्दैन’ भनेर यसको महत्वको दायरालाई झल्काएका थिए । यस्तै फ्रान्सका शासक नेपोलियन बोनापार्टले आफूलाई चार हजार दुश्मन सैनिकका सङ्गीनसँग भन्दा चार वटा विरोधी अखबारसँग डर लाग्ने बताएका थिए ।
त्यसैगरी अमेरिकी विद्वान् जोफर्सनले त ‘मलाई सरकार वा अखवारमध्ये एक छान्न दिइयो भने निःसन्देह अखबार छान्नेछु । किनकी सरकार ढल्न सक्छ तर पत्रकारिता ढल्दैन’ भनेबाट पनि पत्रकारिताको शक्ति सहजै महसुस गर्न सकिन्छ । पत्रकारले पनि त्यस शक्तिलाई दुरुपयोग नगरी देश र जनताको भलाइमा उपयोग गर्न सके जनविश्वास आर्जन गर्न सहयोग पुग्दछ । सूचनाको वास्तविकता, सत्यको जाँच तथा प्रमाणको पुष्टि हुनुपर्नेजस्ता पत्रकारिताका आधारभूत मान्यताबाट विचलित हुनुहुँदैन ।
नेपालको सन्दर्भमा पत्रकारिताले लामो सङ्घर्ष र बलिदानको इतिहास बोकेको छ । निरङ्कुश शासनदेखि प्रजातन्त्र र लोकतन्त्रको यात्रामा पत्रकारहरू जेलमा परे, यातना सहनुप¥यो, तर सत्य र न्यायको पक्षमा कलम चलाइरहेको छ । आजको स्वतन्त्र प्रेसको अवस्था त्यही सङ्घर्षको फल हो । मुलुकको हित, राष्ट्रिय स्वाभिमानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण सञ्चार जगतको मुख्य अभिष्ट मान्दै आएको छ । नेपाली पत्रकारिता जगतले जनसरोकारका सबैजसो विषयमा नागरिकलाई सुसूचित गराउँदै सार्वजनिक सेवा प्रदायकलाई जनताका आवश्यकताको बारेमा पृष्ठपोषण प्रदान गरी सञ्चार सेतुको रूपमा काम गरिरहेको छ ।
पत्रकारिता क्षेत्रले समाजमा रहेका विकृति–विसङ्गतिलाई उजागर गर्नुका साथै राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई ओझेलबाट प्रकाशमा ल्याउन समेत भूमिका खेलिरहेको हुन्छ । राजनीतिक परिवर्तनका घटनाहरु हुन् वा प्राकृतिक विपद्का समयमा आमजनतालाई सचेत र सतर्क बनाउनुका साथै सही सूचना सम्प्रेषण गरी राज्यका जिम्मेवार निकायलाई सही मार्गमा हिँड्न वा उपयुक्त प्रतिकार्य रणनीति निर्माणका लागि समेत पत्रकारिता क्षेत्रले महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ । सामाजिक सञ्जालको व्यापकताका कारण सूचना प्रवाह गर्ने पहुँच अब पत्रकारिताको औपचारिक क्षेत्रभन्दा धेरै विस्तार भएको छ । तर यसो भन्दैमा सामाजिक सञ्जालले ल्याएको विकृतिको प्रभावलाई समग्र पत्रकारिता क्षेत्रसँग जोडेर हेर्ने प्रवृत्तिले एकातिर इमान्दार, निष्ठा र धर्मको पालना गर्ने सञ्चार गृह र पत्रकारहरुमाथि अन्याय भएको छ भने अर्कोतिर क्षणिक मनोरञ्जनमा रमाउँदै जाँदा समाज विखण्डनको खाडलतिर भासिँदै गएको छ । राज्यको चौथो अङ्गको रूपमा समाजले सम्मान प्रदान गरेको हुनाले जिम्मेवारीपूर्ण सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम राख्न सकिन्छ । त्यसैले आज विश्वसनीय सूचनाको आधारको निर्माण गरी जवाफदेही पत्रकारितालाई प्रोत्साहनको खाँचो छ भने र पत्रकारहरुले पनि सुरक्षित वातावरणमा काम गर्ने अवस्थाको सुनिश्चित हुनुपर्ने देखिन्छ ।
नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्न सकिने अवस्थामा छैन । आज पनि पत्रकारिता राजनीतिक दबाब, आर्थिक अस्थिरता, फेक न्युजको प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोगजस्ता विभिन्न चुनौतीसँग जुधिरहेको छ । कतिपय चुनौती समयले ल्याइदिएको छ भने कतिपय प्रविधिले, अनि कतिपय व्यक्तिका प्रवृत्तिले । भौतिक हमला र पेसागत असुरक्षा दुवैले पत्रकारहरुलाई त्रासमा राखेको अवस्था छ भने इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गर्दै पत्रकारलाई निरुत्साहित गर्ने, अपमानित गर्ने खालका नयाँ प्रवृत्तिहरु पनि देखिन थालेका छन् । इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्तिहरु पनि बढेका छन् । पत्रकारितामाथि विभिन्न कोणहरुबाट प्रश्न उठिरहेका बेला यसमा हुने ससाना त्रुटिहरुलाई औँल्याउँदै सञ्चार गृह र तिनमा काम गर्ने पत्रकारहरुको सुरक्षामा सङ्कट देखा पर्न थालेको छ । सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको छ । इन्टरनेटको विकाससँगै सुरु भएको डिजिटल पत्रकारिता आजको मुख्य चुनौती र अवसरका बीच सङ्घर्षरत छ । कमजोर साइवर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यमा अनाधिकृत प्रवेश गरी गलत समाचार दिने, नागरिकलाई दिग्भ्रमति तुल्याउनेजस्ता घटनाहरु बढ्न थालेका छन् । यस्ता अवस्थामा सत्य, तथ्य र निष्पक्षता कायम राख्नु पत्रकारहरूको सबैभन्दा ठूलो जिम्मेवारी हो ।
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र जनमुखी बनाउन नागरिकस्तरबाट पनि उत्तिकै रचनात्मक भूमिकाको खाँचो पर्दछ । पत्रकारको हातमा रहेको कलमबाट कसैमाथि अन्याय हुनुहुँदैन । पत्रकारिताको सबैभन्दा मुख्य धर्म आमजनतासामु निष्पक्षरुपमा सत्य, तथ्य प्रस्तुत गर्नु हो । गल्तीलाई ग्रहण गर्ने र सच्चिन तत्परता देखाउने पत्रकारिताको चरित्र पनि हो । आलोचना र लाञ्छनाले पत्रकारिता कमजोर हुँदैन, बरु थप सशक्त हुन प्रेरित गर्दछ । आचारसंहिता, नीतिनियम र पेसागत इमानदारीलाई आत्मसात् गर्दै समाजप्रति उत्तरदायी बन्ने र पत्रकारलाई सूचना दिनका लागि र तथ्य दिनका लागि नागरिकहरु पनि जागरुक भैदिने हो भने सहज हुने छ र असल नागरिकको कर्तव्य निर्वाह गरेको मानिनेछ । अन्त्यमा राष्ट्रिय पत्रकारिता दिवस केवल उत्सव होइन, यो आत्ममूल्याङ्कनको दिन पनि हो–हामी कहाँ छौँ ? के गर्दैछौँ ? र अब के गर्नुपर्छ भन्ने सोच्ने दिन हो । आमजनमानसलाई निराश हुन नदिई जस्तोसुकै विषम् परिस्थितिमा पनि जनतामा आशाको दियो जगाइराख्न सक्नु पनि पत्रकारिताको अर्को महत्वपूर्ण धर्म हो । तसर्थ, लोकतन्त्र, न्याय र सामाजिक परिवर्तनको लागि कलमलाई अस्त्र बनाएर निरन्तर समाजलाई झक्झक्याउने बाटोमा हिँड्न आजको दिनले सबैलाई प्रेरणा दिओस् ।