काठमाडौँ, २३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई सम्मान गर्नुभएको छ । सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै वरिष्ठ पत्रकार दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मान गरिएको हो ।
राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई रु ५५ हजार राशिको सर्वाेत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गर्नुभयो । आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत ११ वर्षअघि उहाँलाई ‘वरिष्ठ अभियन्ता’ बाट सम्मान गरेको थियो ।
सो अवसरमा अभियन्ता दाहालले मुलुकमा सूचनाको हकको कार्यान्वयनको अवस्था अझै पनि सन्तोषजनक नरहेको बताउनुभयो । विकास र सुशासनका पक्षमा सूचनाको हकको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसको प्रभावकारी कार्यान्वयनसहित सदुपयोग हुनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । अभियन्ता दाहालले लोकतन्त्रको प्रमुख आधार सूचनाको हकको सुनिश्चितता हो भन्दै यसको प्रवर्द्धनमा सरोकार भएका सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा र हरिराम कोन्डा ‘उत्कृष्ट सूचना अभियन्ता’ पुरस्कारबाट सम्मानित हुनुभयो । सो पुरस्कारको राशि जनही रु ३० हजारसहित सम्मानपत्र रहेको छ ।
यसैगरी जनही रु ३० हजार राशिको ‘उत्कृष्ट सूचना अधिकारी’ पुरस्कारबाट देवीप्रसाद थपलिया, केशव सिलवाल, पदमकुमार श्रेष्ठ, हेमन्तकुमार बुढाथोकी र बुद्धिराम न्यौपाने पुरस्कृत हुनुभयो । सो अवसरमा आयोगमा कार्यरत सन्तोष दाहाल, सुदर्शन ढकाल, दिनेश लुइँटेल, रञ्जना दाहाल, सीताराम बस्नेत र माइली तामाङलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको थियो ।