लमजुङ, २१ वैशाख : राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ ।
गण्डकी प्रदेश, पर्यटन मन्त्रालयबाट रु २० लाख, सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको लागतमा उद्यानको संरचना निर्माण गरिएको हो ।
उद्यान निर्माण उपभोक्ता समितिका सचिव विष्णु गुरुङले उद्यानमा राष्ट्रकविको जीवन दर्शन, साहित्य साधना र राष्ट्रिय योगदानको प्रतीक राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रकविले बाल्यकालमा खेल्नेबस्ने गरेको उपलटाउको चौतारा संरक्षण समेत भइरहेको छ । नवनिर्मित उद्यान तथा सालिकको राष्ट्रपति रामचन्द्र पौडेलले आज अनावरण तथा शुभारम्भ गर्नुहुने राष्ट्रकवि प्रतिष्ठान तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरले जानकारी दिनुभयो । राष्ट्रकविले नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनीय रहेको र त्यही योगदानको स्मृति र सम्मानस्वरूप घिमिरेको जन्मथलोमा उद्यान निर्माण काम अघि बढाइएको उहाँले बताउनुभयो ।
राष्ट्रकवि माधव घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । नेपाली साहित्यमा गम्भीर साधनारत रहनुभएका घिमिरेले कविता, गीत, गीतिनाटक, निवन्ध, नाटक, बालसाहित्यलगायत विधामा विशिष्ट योगदान दिनुभएको थियो । जीवनकालभरि उहाँले साहित्य सेवामार्फत राष्ट्रिय भावनालाई सशक्त बनाउनुभएको थियो । ‘गौरी’, ‘मालती मङ्गले’, ‘राजेश्वरी’, ‘अन्तरक्रिया’, ‘भारती’, ‘सकुन्तला’लगायत कृतिहरू आज पनि नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन् ।