तनहुँ, २१ वैशाख : तनहुँका भुजेल समुदाय यतिबेला आफ्नो सांस्कृतिक पहिचान स्थापित गर्ने अभियानमा जुटेका छन् । रकम जुटाएर उनीहरु पहिचानका लागि वेशभूषा, भाषा, धर्म, संस्कृतिको जगर्ना गर्न लागेका हुन् ।
अभियानअन्तर्गत तनहुँमा एकहप्ते संस्कार जगेर्ना कार्यक्रम गरिएको छ । भुजेल महिला समाज केन्द्रीय कार्यसमिति र भुजेल जिल्ला कार्यसमितिको संयुक्त रूपमा सो कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय अल्पसङ्ख्यक भुजेल जातिमा सांस्कृतिक विचलन देखापरेकाले सांस्कृतिक पहिचानको संरक्षण तथा पुस्तान्तरणका लागि अभियान सञ्चालन गरिएको भुजेल समाज नेपाल केन्द्रीय कार्यसमितिको भाषा, संस्कार, सांस्कृतिक विभाग प्रमुख रेशम भुजेलले बताउनुभयो ।
अभियानअन्तर्गत २५ युवालाई संस्कार जगेर्ना कार्यक्रममा प्रशिक्षित गरिएको छ । जातिको आफ्नो छुट्टै धर्म, संस्कार, संस्कृति, भाषा, पहिरन र रीतिरिवाज रहेको भुजेल महिला समाज केन्द्रीय कार्यसमिति अध्यक्ष वसुन्धरा घर्ती भुजेलले बताउनुभयो । यो समुदायका युवा पछिल्लो समय आफ्नो संस्कार र संस्कृति छाडेर विचलनमा पर्न थालेकाले त्यसको संरक्षणका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । संस्कृति हराए पहिचान हराउने चिन्ता भएकाले युवापुस्ताले मौलिक परम्परा, सीप, संस्कार र भाषाको ज्ञान दिलाउन प्रशिक्षण कार्यक्रम गरिएको भुजेल महिला समाजकी केन्द्रीय सचिव कला भुजेलले जानकारी दिनुभयो ।
कार्यक्रममा भुजेल जातिको जन्म, विवाह, मृत्यु संस्कारदेखि चाडपर्वका बारेमा ज्ञान दिन पूर्वदेखि पश्चिमका विज्ञहरूलाई बोलाएर प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।