बैशाख १९, २०८२ शुक्रबार

काठमाडौँ, १९ वैशाख : सरकारले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन सुरक्षा निकायलाई थप सबल, सक्षम, सुदृढ र व्यावसायिक बनाउने भएको छ ।
 
    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को  नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्टको विस्तार, नागरिकको सक्रिय सहभागिता एवम् प्रविधिको उपयोग गरिने बताउनुभयो ।
 
    मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय एकता तथा राष्ट्रिय हितका लागि नेपाली सेनालगायत सबै सुरक्षा निकायको प्रभावकारी परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायलाई सुदृढ गर्न आवश्यक पर्ने आधुनिक प्रविधि र सुरक्षा उपकरणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
 
    नागरिकता विधेयकलगायत नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गरिनेछ । लागुऔषध दुव्र्यसन, आत्महत्या नियन्त्रण, साइबर अपराध नियमनलगायत समाजमा घट्ने अपराध नियन्त्रण गर्न सुरक्षा निकायको दक्षता अभिवृद्धि गरिनेछ । अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
 
    राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनको आधारका रूपमा प्रयोग गरिनेछ । यसलाई अन्य सार्वजनिक सेवासँग आबद्ध गरी सेवा प्रवाहलाई सरल, मितव्ययी र प्रभावकारी बनाइनेछ । नीति तथा कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारको क्षमता विकास गर्दै जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहयोग, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 
 
    पश्चिम नेपालमा गएको भूकम्प, मनसुनजन्य विपद् र अन्य प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त निजी आवास, पुरातात्विक सम्पदा तथा सार्वजनिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई द्रुत गतिमा बढाउने सरकारको योजना छ । अध्यागमन प्रणालीलाई सरल, सुरक्षित र भरपर्दो बनाउन आधुनिक प्रविधिको उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।