बैशाख १९, २०८२ शुक्रबार

महेन्द्रनगर (धनुषा), १९ वैशाख : सूचना प्रविधिको अधिकतम सदुपयोग गरी सहकारी संस्थामा सुशासनसहित तिनलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने खाँचो औँल्याएको छ ।

सहकारी संस्थामा सफ्टवेयर प्रयोगसम्बन्धी यहाँ आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले सूचना प्रविधिमा आधारित सफ्टवेयर जडान गरी सहकारीका गतिविधिलाई पारदर्शी, विश्वसनीय र जवाफदेही बनाउनुपर्ने बताउनुभयो ।   

सो अवसरमा सहकारी विज्ञ किरण पौडेलले सहकारी ऐन, नियम तथा राष्ट्र बैंकको निर्देशन पालना गर्नुपर्ने, सहकारी रजिष्ट्रारको कार्यालयद्वारा स्वीकृत प्रतिवेदन सङ्कलन, सहकारी कामकाजसँग सम्बन्धित ‘डाटा डाउनलोड तथा अपलोड’ गर्नेलगायत कानुनी, नीतिगत, व्यावहारिक, आर्थिक तथा प्राविधिक विषयमा जानकारी गराउनुभयो ।
 
राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक नथुनी यादवले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको ‘सहकारी’प्रति नकारात्मक टीकाटिप्पणी भइरहको विद्यमान अवस्थामा सुशासन र पारदर्शीतामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
 
ऋण सहकारी संस्थाका अध्यक्ष रामनगिना राउत, सहकारी रजिष्ट्रार कार्यालयका वासुदेव भट्ट, विनोद थापालगायतका सहकारी सम्बद्ध अधिकारीहरूले सहकारी संस्थाका विद्यमान अवस्था, आसन्न चुनौती, नाफा, नोक्सानलगायत विषयमा धारणा व्यक्त गर्नुभएको थियो । उहाँहरूले तेस्रो मुलुकबाट नेपाल भित्रिने रकम सहकारीमार्फत पनि ल्याउन सकिने व्यवास्था गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशअन्तर्गतका सहकारी सम्बद्ध संस्था तथा निकायका १०० भन्दाबढी व्यक्तिको सहभागिता थियो ।