बैशाख १९, २०८२ शुक्रबार

काठमाडौँ, १९ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वको उपलब्धिको रक्षा गर्न वर्तमान सरकार दृढ रहेको बताउनुभएको छ ।
     
सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गणतान्त्रिक व्यवस्थाकाविरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिक्रियावादी अराजक गतिविधिको प्रतिवाद गरिने बताउनुभयो ।

     “राष्ट्रिय आवश्यकता र जनचाहनाअनुरुप लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादोन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि, राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।