बैशाख १९, २०८२ शुक्रबार

धौलागिरि (म्याग्दी), १९ वैशाख : मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन रु दुई करोड २४ लाखको अक्षयकोष स्थापना गरिएको छ । 

आर्थिक अभावकै कारण प्राविधिक शिक्षा पढ्न नपाउने विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानमा गाउँदेखि विदेशमा रहेकाहरूबाट उक्त सहयोग सङ्कलन गरिएको अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले जानकारी दिनुभयो । गत वर्ष कात्तिकेदेखि सुरु भएको सो अभियानअन्तर्गत हालसम्म सहयोग जुटने क्रम जारी छ । प्रमुख कृष्ण जुग्जाली र दल जुग्जालीको परिवारले अक्षयकोषका लागि रु ११ लाख १२ हजार ५५५ उपलब्ध गराएको छ । 

त्यसैगरी अमेरिकामा रहेका बिमका विजय जुग्जालीले रु ११ लाख ११ हजार १११ तथा हङ्कङमा रहनुभएका दल शेरबुजाले रु ६ लाख उपलब्ध गराउनुभएको छ । शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले केहीले खाद्यान्न बेचेर पनि सहयोग गर्नुभएको बताउनुभयो । बिम गाउँका ३०० परिवारले उक्त अभियानलाई साथ दिएका छन् । 

मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले प्राविधिक शिक्षा अध्ययनमा विद्यार्थीलाई आकर्षित गर्न कोषबाट मद्दत पुग्ने  बताउनुभयो । यहाँ बाली विज्ञान र पशु चिकित्सा विषयमा पढाइ हुने गरेको छ । बिममा २०६८ सालदेखि सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पढाइ सुरु भएको थियो ।

अहिले यहाँ २१ जिल्लाका १५० विद्यार्थी अध्ययनरत छन् । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पढाइ हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । विपन्नलाई प्राविधि शिक्षामा जोडेर आर्थिक गतिविधिमा सघाउने गरी कोषको स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलिप्रसाद जुग्जालीले बताउनुभयो । 

 कृषि शिक्षा पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले उनीहरुलाई खेतबारीमै लगेर प्रयोगात्मक अभ्यास गराउनुका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषिउपज उत्पादन गरी बजारमा बेच्न प्रोत्साहन गरिँदैआएको छ । विद्यार्थी र शिक्षककै प्रयासमा उत्पादन भएको वस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउने गरेका छन् ।