बैशाख १९, २०८२ शुक्रबार

    जेनेभा, १९ वैशाख: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधोनम गेब्रेयससले गाजाको अवस्था विनाशकारी रहेको र २० लाख मानिस भोकमरीको सामना गरिरहेको बताउनुभएको छ ।     
     
 शुक्रबार जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै गेब्रेयससले डब्लुएचओले अभूतपूर्व कोष चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार दाता देशहरूले उनीहरूको योगदान घटाउँदै गर्दा डब्लुएचओको वित्तपोषणको इतिहासमा सबैभन्दा गम्भीर अवरोध भएको छ ।     
     
 यसैबीच डब्लुएचओको स्वास्थ्य आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले गाजाका बालबालिकाहरूको दिमाग र शारीरिक अवस्था बिथोलिएको चेतावनी दिनुभएको छ ।     
     
 रायनका अनुसार गाजाका बालबालिकाहरूको शरीर र दिमाग बिथोलिएको छ, उनीहरू भोकै छन् ।     
     
 उहाँले अन्तर्राष्ट्रिय समुदायलाई कारबाही गर्न आग्रह गर्दै र यो अवस्था असहनीय रहेको जोड दिँदै अवस्था असहनीय रहेको बताउनुभयो ।     
     
 कुपोषणको हालको स्तरले प्रतिरक्षा प्रणालीलाई बिगार्दै गएको उहाँको भनाइ थियो । उहाँले महिला र बालबालिकामा निमोनिया र मेनिन्जाइटिसका मामिलामा वृद्धि भएको पनि औँल्याउनुभयो ।