फागुन २, २०८१ शुक्रबार

सिरहा, २ फागुन : सिरहाको गोलबजार नगरपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउंण्ड’ सेवा बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । नगरप्रमुख श्यामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सेवा उद्घाटन गर्दै नगरपालिकाले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो सुविधा उपलब्ध गराएको बताउनुभयो ।

“गाउँमै स्वास्थ्य सुविधा सहज बनाउन नगरपालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । त्यसैअन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको हो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “अब गर्भवती महिलालाई अल्ट्रासाउन्ड गर्न टाढा जानु पर्दैन ।” यो सेवाले मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गर्भावस्थामा उचित जाँचको अभावमा आमा र शिशुको मृत्यु दर बढ्ने हुनाले त्यसलाई न्यूनीकरण गर्न यस सेवाले सहयोग पुग्ने गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले बताउनुभयो । ग्रामीण भेगका महिलालाई यसबाट प्रत्यक्ष लाभ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख मान्ती देवी साहले यो सेवा सञ्चालनसँगै यस भेगका महिला अल्ट्रासाउन्ड गर्न मिर्चैया, लहान र सिरहा सदरमुकामसम्म जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।