जेठ २६, २०८१ शनिबार

कैलाली, २६ जेठ : कैलालीको धनगढीमा यही जेठ २७ र २८ गते हुने ‘श्रमाधान रोजगार मेला’ को सम्पूर्ण तयारी पूरा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आयोजनामा दुईदिनसम्म सञ्चालन हुने उक्त मेलाको तयारी पूरा भएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहोराले हालसम्म मेलामा ३५ वटा कक्षका लागि निजी क्षेत्रका व्यवसायीले दर्ता गराइसकेका जानकारी दिनुभयो । थप कक्ष दर्ता हुने क्रममा रहेको उहाँले बताउनुभयो । 

    उपसचिव बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्तिलाई रोजगार दातासम्म पु¥याउने उद्देश्यले श्रमाधान मेलाको आयोजना गर्न लागिएको भन्दै मेला रोजगारादाता र रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि महत्वपूर्ण हुने बताउनुभयो । 

    “पछिल्लो समय नेपाली युवा वैदेशिक रोजगारीमा जानेक्रम बढ््दै गएको छ । आन्तरिक रोजगारीतर्फ ध्यान नपु¥याउन सकिराखेको अवस्थामा आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न एउटा अभियानका रुपमा यो मेलाको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो ।

    नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले रोजगारदाताले आवश्यकताअनुसारको श्रमिक नपाउने अवस्थालाई यस्ता मेलाले सम्बोधन गर्ने बताउनुभयो ।

    अबका दिनमा नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न तथा कस्तो खालको सीपको आवश्यकता पर्छ भन्ने विषयलाई सम्बोधन गर्न मेलाले थप सहयोग गर्ने अध्यक्ष पाठकले बताउनुभयो । मेलाबाट दुई हजारभन्दा बढी जनालाई रोजगारीका अवसर प्रदान गरिने उहाँले जानकारी दिनुभयो । 

    “विभिन्न कम्पनी, उद्योगबाट रोजगारी दिनका लागि माग भएको छ । हामीले त्यहीअनुसार रोजगारी दिने व्यवस्था गरेका छौँ । रोजगारदाता सबै कम्पनीका छुट्टाछुट्टै कक्ष रहनेछन्”, अध्यक्ष पाठकले भन्नुभयो ।

    श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख जनक सिंखडाले मेला आयोजनाको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । 

    मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकका रुपमा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, होटल सङ्घ नेपाल, नेपाल तालिम तथा रोजगार महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासङ्घ छन् । 

    मेलामा विभिन्न कार्यशाला सञ्चालन हुनेछन् । सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा ‘स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारी’ विषयक कार्यशाला सञ्चालन हुने आयोजकले जनाएको छ  ।