जेठ २४, २०८१ बिहिबार

काठमाडौँ, २४ जेठः सगरमाथा आरोही डिजे तेञ्जिङ शेर्पालाई विभिन्न सङ्घसंस्थाले सम्मान गरेका छन् । सगरमाथाको सफल आरोहण गरेको उपलक्ष्यमा शेर्पा विद्यार्थी सङ्घ, हिमालयन शेर्पा कल्चर र थोलेदेम्बा शेर्पा किदुकलगायतका सङ्घसंस्थाले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । 

    डिजे शर्पाले गत मे २१ मा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । साथै गत मे १७ मा छ हजार चार सय मिटरको उचाइमा रहेको सगरमाथा क्याम्प २ मा ‘डिजे पार्टी’ आयोजना गरी सबैभन्दा उचाइमा भएको डिजे कन्सर्टका लागि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनका लागि प्रयास पनि गर्नुभएको थियो ।
    
    गत मार्चको अन्त्यमा उहाँले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेस्ट एक्सपेडिसन २०२४’ घोषणा गर्नुभएको थियो । अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि त्यसले पर्यटन प्रवद्र्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको डिजे तेञ्जिङले जानकारी दिनुभयो । 
    
    त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले डिजे तेञ्जिङले त्यस अभियानमार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गर्नुभयो । मन्त्री तामाङले डिजे तेञ्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उहाँको प्रयासमा सरकारको समर्थन जनाउनुभएको थियो । सोलुखुम्बुका बासिन्दा तेञ्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आउनुभएको छ ।